बीमा क्षेत्रमा शङ्कास्पद कारोबार नियन्त्रणका लागि कानून बमोजिम काम गर्न अध्यक्ष सिलवालको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोबार नियन्त्रणका लागि कानून बमोजिम काम गर्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरुद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर (गोएमएल) बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले शंङ्कास्पद कारोबार नियन्त्रणका लागि तर्कबितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर काम गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोबार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोबार गर्न, शङ्कास्पद लगानीका बारेमा जानकारी दिन परिपालन अधिकृतको मात्र भर नपरी प्रमुख कार्यकारी अधिकृत स्वयम् जवाफदेही बन्न र आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाई (एफआईयु) का प्रमुख दीर्घ बहादुर रावलले कानूनी र आर्थिकरुपले उद्देश्य स्पष्ट नभएका लगानी जोखिमयुक्त हुने भएकाले बीमा कम्पनीहरुले त्यसतर्फ ध्यान दिनुपर्ने र कारोवारमा शङ्का लाग्ने वित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए ।

बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा शङ्कास्पद लगानी नियन्त्रण गर्नका लागि सबै बीमा कम्पनीहरूले गोएमएल सफ्टवेयर कार्यान्वयनमा ल्याई शङ्कास्पद कारोवारहरूका बारेमा अनिवर्यारुपमा समयमा नै वित्तीय जानकारी इकाई (एफआईयु) मा पठाउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणको भनाइ छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु