गृहमन्त्री लामिछानेको ‘एक्सन’: सुरक्षा अधिकारीहरूले आफूखुसी नेता र राजदूत भेट्न नपाउने



काठमाडौं । गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको पाइएको भन्दै कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्न निर्देशन दिएका हुन् ।

निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसंग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसंग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्री बनेसँगै रवि लामिछानेले मन्त्रालय सुधारका लागि काम गरिरहेका छन् ।


क्लिकमान्डु