मर्जर प्रक्रियामा १३ बीमा कम्पनी, एकीकृत कारोबारको प्रक्रिया कुनको कहाँ पुग्यो ?



काठमाडौं । नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति)ले पुँजी वृद्धिको योजना ल्याएपछि १९ वटा बीमा कम्पनीले मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

ती कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एकीकृत कारोबार थालीसकेका छन् । निर्जीवन बीमा व्यवसायतर्फ हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स र सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् ।

यस्तै, जीवन बीमातर्फ भने सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् । अब १३ वटा कम्पनी मर्जर प्रक्रियामा रहेका छन् ।

जीवन बीमा कम्पनीतर्फ यूनियन, प्राइम, गुँरास लाइफ, महालक्ष्मी र प्रभु लाइफ, सानिमा र रिलायन्स लाइफ मर्जरको प्रक्रियामा रहेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ लुम्बिनी र सगरमाथा, प्रिमियर र सिद्धार्थ, प्रभु र अजोड इन्स्योरेन्स मर्जरको प्रक्रियामा छन् ।

मर्जर प्रक्रियामा रहेका ७ जीवन बीमा कम्पनी एकीकृत कारोबारका लागि के गर्दैछन् ?

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले एक आपसमा गाभ्ने, गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ती मध्ये सूर्या र ज्योति लाइफले ‘सूर्य ज्योति लाइफ इन्स्योरेन्स’को नामबाट पुस ७ गते बिहीबारदेखि एकीकृत कारोबार गरिसकेका छन् ।

अब ७ वटा जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा छन् ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । मर्जरमा जान लागेको प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । यदि यी कम्पनी एक बराबर एक अनुपातमा गाभिए भने नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी सात अर्ब रुपैयाँ नाघ्ने छ ।

यी कम्पनीहरुको मर्जर प्रक्रिया एक्चुअरी भ्यालुयसन हुन नसक्दा अघिबढ्न सकेको थिएन । यूनियन लाइफ र प्राइम लाइफको एक्चुअरी भ्यालुयसन सकिसकेको छ । भने गुराँस लाइफ इन्स्योरेन्सको पनि आव २०७६÷७७ को एक्चुअरी भ्यालुयसन सकिएको छ भने आव २०७७÷७८ को एक्चुअरी भ्यालुयसनको प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ । एक्चुअरी भ्यालुयसनको काम सकिएपछि अन्य प्रक्रिया अघिबढ्ने कम्पनीहरुको भनाइ छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले एक बराबर एकको अनुपातमा गाभिने निर्णय गरेका थिए । यी कम्पनीहरुले भने मर्जर प्रक्रिया अन्तिम चरणमा पुर्याईसकेका छन् । प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले मर्जरको काम अघि बढिरहेको र एक्चुअरी भ्यालुयसनको काम मात्रै बाँकी रहेको जानकारी दिए ।

‘काम अघि बढिरहेको छ । कम्पनीको विनियमावली बनाउने, कुन शाखा सञ्चालन गर्ने, कुन शाखा बन्द गर्ने सबै विषय सकिसकेका छन्,’ सीइओ प्रसाईले क्लिकमाण्डूँसग भने, ‘दुबै कम्पनीको एक्चुअरी भ्यालुयसन पास भइसकेको छैन, एक्चुअरीको प्रतिवेदन पास भइसकेपछि मर्जरको अन्य प्रकृया अघि बढ्नेछ ।’

मर्जरपछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । नयाँ बन्ने कम्पनीको सीइओमा महालक्ष्मी लाइफका सीइओ रमेश कुमार भट्टराई बन्नेछन् ।

रिलायन्स लाइफ र सानिमा लाइफले एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा असार २९ गते हस्ताक्षर गरेका थिए । कम्पनीहरु समान हैसियतमा गाभिन लागेका हुन् । मर्जरपश्चात यो कम्पनीको पुँजी ४ अर्ब १० करोड पुग्ने छ ।

रिलायन्स र सानिमा लाइफले एकीकृत कारोबारका लागि काम अघि बढाईरहेका छन् ।

काम अघि बढेपनि यी कम्पनीको एकीकृत कारोबार कहिले गर्ने भन्ने विषयले पूर्णता पाएको छैन । दुई महिनाको समयममा एक्चुअरी भ्यालुयसन लगायतका काामहरु सकिने हुँदा उक्त मितिपश्चात मात्रै एकीकृत कारोबारको मिति तय हुने रिलायन्स लाइफका डिसिइओ निराञ्जन कडेंलले बताए ।

‘मर्जरमा जाने प्रक्रिया सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि एकीकृत कारोबारका लागि अन्य प्रक्रिया हुँदैछन्,’ सीइओ कडेंलले क्लिकमाण्डूँग भने, ‘तर,जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया निर्जीवन बीमा कम्पनीको जस्तो सहज नहुने र एक्चुअरी भ्यालुयसन स्वीकृत हुन पनि समय लाग्ने हुँदा हालसम्म पनि कहिलेदेखि एकीकृत कारोबार गर्ने भन्ने निर्णय भएको छैन ।’

डेढ दुई महिनामा मर्जरको प्रक्रिया सकिने उनको अनुमान छ ।

६ निर्जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा, एकीकृत कारोबारका लागि के गर्दैछन् यी कम्पनी ?

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १० वटाले एक आपसमा मर्जरमा गई पुँजी वृद्धि गर्ने निर्णय गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तीमध्ये हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स र जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गरिसकेका छन् ।

जसअनुसार ६ निर्जीवन बीमा कम्पनीहरु मर्जरको प्रक्रियामा छन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीहरुले बराबरी हैसियतमा गाभ्ने÷गाभिने निर्णय गरेका थिए ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

यी कम्पनीहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने र मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृया पूरा गरी मर्जरको अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा बोलाएका छन् ।

वार्षिक साधारणसभाले अन्तिम स्वीकृत दिएपछि एकीकृत कारोबारको मिति तय हुनेछ । यी कम्पनीहरुले नाम समेत जुराईसकेका छन् । कम्पनीहरुले ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय गर्नेछन् ।

कम्पनीहरुले एकीकृत कारोबारको मिति समेत तय गरिसकेका छन् । यी कम्पनीहरुले फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुबै कम्पनीले १०० बराबर ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीहरुले माघ २ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । यी कम्पनीहरुले‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स’ नामबाट कारोबार गर्नेछन्

अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । प्रभु र अजोड इन्स्योरेन्सबीच १००ः७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको थिए ।

हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । मर्जरपछि कम्पनीको नाम ‘प्रभु इन्स्योरेन्स’ रहनेछ । सञ्चालक समितिको अध्यक्षमा अजोडका अजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य रहनेछन् ।


क्लिकमान्डु