साधारण सभा नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक, मनलाग्दी कार्यालय बन्द गर्न नपाउने



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश सरकारले बार्षिक साधारणसभा नगर्ने सहकारी संस्थालाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ ।

प्रदेश सरकारले बुधबार सहकारी संघ संस्थाहरुलाई तीन बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले जारी गरेको निर्देशनमा अनिवार्य रुपमा गर्नुपर्ने नियमित वार्षिक साधारण सभा नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको उल्लेख छ ।

विभागले सार्वजनिक बिदा बाहेक दिनमा कार्यालय खुला राख्न निर्देशन दिएको छ । हाल केही सहकारी संस्थाहरुले आफूखुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन दिएको जनाएको छ ।

यस्तै मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरुले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएकाले प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आफ्नो कारोबारको अनुपात मिलाउन निर्देशन दिएको छ ।


क्लिकमान्डु