सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए ।

‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्या लगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पुर्ण ध्यान केन्द्रित भएको छ’ उनले भने ।

रुस–युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापी रुपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाइ छ । वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

‘सामुहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व सवैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ’प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालसंगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराएका थिए । नवनियुक्त प्रधानमन्त्री दाहाललाई चेम्बरले ८ बुँदे सुझावसमेत दिएको छ । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए ।

‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायीत्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ’ उनले भने ।

चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्ल सहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ लगायतले नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई एवं शुभकामना दिएका थिए ।


क्लिकमान्डु