जीवन बीमा कम्पनीबीच बोनसदरमा प्रतिस्पर्धा, कुन कम्पनीमा बीमा गर्दा बढी पाइन्छ ?



काठमाडौँ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।

नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ, आइएमई लाइफ, रिलायवल नेपाल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेका हुन् ।

कम्पनीहरुले सञ्चालनमा ल्याएका नाफामा आधारित(बोनस आर्जन गर्ने) गरी जारी भएका बीमालेखका लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । यी बाहेकका अन्य कम्पनीहरुले भने नयाँ बोनसदर सार्वजनिक गरेका छैनन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।

साथै, कम्पनीहरुकानुसार अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा प्रािधकरणबाट अर्को व्यवस्था नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत तल उल्लेख गरिए बमोजिको बोनसदर कायम हुनेछ ।

उच्च बोनसदर दिने कम्पनी

नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेशनल लाइफ इन्स्योरेन्स सर्वाधिक बोनसदर घोषणा गर्ने कम्पनीमा परेका छन्  । आव २०७७/७८ का लागि बीमितलाई बोनसदर घोषणा गरेका १२ कम्पनीमध्ये उच्च बोनसदर सूर्या लाइफले दिएको छ ।

कम्पनीले आव २०७७/७८ का लागि बीमितलाई अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने निर्णय गरेको हो ।

सूर्यापछि ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷०७८ मा प्रतिहजार न्यूनतम ५६ रुपैयाँ र अधिकतम ८२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरुअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मेट लाइफले मुनाफामा सरिक हुने बीमालेखहरूका लागि प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

पूरानालाई टक्कर दिँदै नयाँ कम्पनी

नयाँ जीवन बीमा कम्पनीहरुले पूराना कम्पनीलाई टक्कर दिएका छन् । केही पूराना बीमा कम्पनीको तुलनामा नयाँ कम्पनीले दिने बोनसदर धेरै छ ।

एशियन लाइफले प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बोनसदर कायम गरेको छ ।

यी कम्पनीको बोनस दरलाई नयाँ बीमा कम्पनीले पछि पारेका छन् ।

ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आव २०७७/७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ ।

आइएमई लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

सिटिजन लाइफले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

यी कम्पनीले बढाए बोनसदर

आव २०७६/७७ को तुलनामा केही कम्पनीहरुको बोनसदर बढेको छ । एशियन लाइफले अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बोनसदर बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो ।

प्राइम इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरुअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको छ । आव २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३२ रूपैयाँ र अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनसदर बढाएको छ । कम्पनीले आव २०७७/७८ का लागि बीमितलाई अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ । आव २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७२ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

यस्तै, आइएमई लाइफ, नेशनल लाइफ, मेट लाइफ र नेपाल लाइफको बोनसदर आव २०६७/७७ को तुलनामा स्थिर रहेको हो।

यी कम्पनीले सार्वजनिक गरेका छैनन् नयाँ बोनसदर

गुराँस लाइफ, यूनियन लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, महालक्ष्मी लाइफ र लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी)ले भने नयाँ बोनसदर सार्वजनिक गरेका छैनन् ।

गुराँस लाइफले आव २०७६/७७ मा २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म, प्रभुले न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, रिलायन्सले न्यूनतम २४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल)ले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, महालक्ष्मी लाइफ इन्स्योरेन्सले न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म र रिलायन्स लाइफले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेका छन् । यस्तै, यूनियन लाइफले आव २०७५/७६ मा न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको थियो ।

के हो बोनसदर ?

बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ ।

बीमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनसदर प्राप्त गर्छन् । जीवन बीमा कम्पनीहरुले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरुलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


क्लिकमान्डु