अर्थमन्त्रीले वार्तामा बोलाएपछि प्रदेश १ का उद्योगी व्यवसायीको आन्दोलन स्थगित



विराटनगर । नयाँ सरकारका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै यहाँका उद्योगी व्यवसायीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

उनले विराटनगरको देवकोटा चोकस्थित नेपाल राष्ट्र बैंकको प्रवेशद्वारअगाडि धर्नास्थलबाटै आन्दोलनका कार्यक्रमहरू स्थागित भएको जानकारी गराएका हुन् ।

मंगलबार नै सरकारसँग वार्ता गर्न उद्योगी व्यवसायीहरूको टोली काठमाडौं गएको छ । अर्थमन्त्री पौडेलले वार्ता टोली बनाएर आउन भनेकोले वार्तामा जान लागेको उनले बताए ।

सोमबार साँझ अर्थमन्त्री पौडेलले मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा सीएनआई प्रदेश १ का प्रमुख संरक्षक पवनकुमार सारडालाई टेलिफोनमार्फत वार्तामा सहभागी हुन अनुरोध गरेका थिए ।

सीएनआई प्रदेश १ का भीम घिमिरेले अर्थमन्त्री पौडेलले उद्योगी सारडालाई वार्तामा बस्न आह्वान गरेको कारण आन्दोलन स्थगित गर्नु परेको बताए । उद्योगी व्यवासायीहरू चौथो दिन नेपाल राष्ट्र बैंक विराटनगरमा धर्ना दिने कार्यक्रम जानुभन्दा अघिल्लो दिन अर्थमन्त्रीले फोन गरेर वार्तामा बोलाएको उद्योगी घिमिरेको भनाइ छ ।

‘सरकारका नवनियुक्त प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीलाई उद्योगी व्यवसायीलाई वार्तामा डाकेर समस्या समाधान गर्न भनेपछि अर्थमन्त्री पौडेलले टेलिफोन गरेर अग्रसरता देखाएको’ सीएनआई प्रदेश १ का अध्यक्ष घिमिरेले क्लिकमाडूसँग भने ।

उद्योगी व्यवसायीहरूले चर्को बैंक व्याजदर घटाएर एकल अंकमा ल्याउनुपर्ने, चालु पूँजी कर्जासम्बन्धी निर्देशिका खारेज गर्नुपर्ने, उद्योगी र बैंकर अलग गर्नुपर्नेलगायतका माग राखेर धर्ना, जुलुशजस्ता आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । आन्दोलनमा ४० भन्दा बढी संस्थाका उद्योगी व्यवसायीहरू सहभागी थिए ।
आन्दोलनकै क्रममा विराटनगरका उद्योगी व्यवसायीहरूले गत बिहीबारदेखि यहाँको राष्ट्र बैंकअगाडि धर्ना दिंदै आएका थिए ।
सरकारसँग वार्तामा जानुअघि विराटनगरमा उद्योगी व्यवसायीका प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ । छलफल सकेर वार्ता टोली काठमाडौं प्रस्तान गर्ने मोरङ व्यापार संघका अध्यक्ष रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार, वार्ताका लागि एजेण्डा तय गर्ने र वार्ता टोली बनाइने छ । वार्ता टोलीमा भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौँ उद्योग वाणिज्य महासंघका प्रतिनिधिपनि सहभागी हुने छन् ।


क्लिकमान्डु