एकीकृत कारोबारपछि सूर्यज्योतिले जारी गर्‍यो एक हजार पोलिसी



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भइ बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार गरेको ५ दिनमा नै एक हजार भन्दा धेरै बीमा पोलिसी जारी गर्न सफल भएको छ ।

एकीकृत कारोबारपछि कम्पनीले आयोजना गरेको एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले छोटो समयमा नै एक हजार पोलिसी जारी भएको जानकारी दिएका हुन् ।

सीईओ खत्रीले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको र बीमा क्षेत्रकै बेन्चमार्क बन्ने लक्ष्य लिएको बताए ।

`चूनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भयौं । मर्ज गर्नलाई बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन,’ खत्रीले भने, ‘भ्यालुयसन कसरी गर्ने, २ वटा एक्चुअरि टीमले छुट्टाछुट्टै भ्यालुयसन गर्न नै चुनौती थियो।’

एकीकृत थालनी गरेको मिति ४ दिनमै कम्पनीले एक हजार बढी पोलिसी जारी गरिसकेको उनले जानकारी दिए ।

कम्पनीमा आवद्ध भएका कर्मचारीहरुलाई एकीकृत कारोबार सुरु गर्नु अघि नै भोलिको दिनमा भूमिका के हुन्छ भनेर ईच्छाअनुसार पद समायोजन गरेको उनले बताए ।

एकीकृत कारोबार पश्चात् कम्पनीको कुल शाखा कार्यालयको संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ रहेको छ ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । जुन जीवन बीमा क्षेत्रकै तेस्रो ठूलो बीमा कम्पनी बनेको छ । कम्पनीको कुल लगानी २५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, बीमा कोषमा २२ अर्ब संचित छ ।


क्लिकमान्डु