बिष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सेयर बजारमा उछाल



काठमाडौं । नयाँ बन्ने सरकारको अर्थमन्त्री बिष्णु प्रसाद पौडेल बन्ने चर्चासँगै सेयर बजारमा उछाल आएको छ ।

पौडेल यसअघि अर्थमन्त्री भएको समयमा सेयर बजारले नयाँ उचाइ लिएको थियो । त्यसको प्रभाव स्वरुप अहिले पनि लगानीकर्ताले पौडेललाई मन्त्रीको रुपमा चाहेका छन् । उनी पौडेल मन्त्री बन्ने भएपछि बजारमा उछाल आएको छ ।

बजार मापन गर्ने सूचक ५६.८६ अंकले बढेर परिसूचक १९२४.०७ बिन्दुमा रोकिएको छ । २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ४२.७३, विकास बैंक १५२.०५, वित्त कम्पनीको ९५.१९, जलविद्युत १००.०९, जीवन बीमा २५२.१०, उत्पादन तथा प्रशोधन १३९.८८, माइक्रोफाइनान्स ११८.८१, निर्जीबन बीमा २५७.६२, ट्रेडिङ समूहको उपसूचक ५६.५६ अंकले बढेको छ ।

कारोबारमा गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, घलेम्दी हाईड्रो, शिव श्री हाईड्रो लगायतका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ८८ लाख ७ हजार २४४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र नबिल बैंक रहेका छन् ।


क्लिकमान्डु