प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, सेयरधनीलाई नगदको सट्टा बोनस



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न सुझाव दिएसँगै कम्पनीले लाभांश संशोधन गरेको हो ।

कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८ सय रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।

प्राधिकरणले ‘बीमकले प्रस्ताव गरे बमोजिमको नगद लभांशको सट्टामा बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनको लागि मात्र नगद लाभांश वितरण गर्ने’ भन्ने सशर्त स्वीकृति प्राप्त भएको हुँदा सोही बमोमित कम्पनीले लाभांश संशोधन गरेको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको सुझावअनुसार उक्त लाभांश संशोधन गर्दै १४.२५ प्रतिशत बोनस सेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश साधारणसभाबाट स्वीकृतिको लागि पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस २९ गते, सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गतेदेखि साधारण सभा हुनेदिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २१ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।


क्लिकमान्डु