९ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिँदैछन् ?



काठमाडौं । सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये नौ वटाले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

शिखर, नेको, प्रिमियर, सगरमाथा, एनएलजी, सिद्धार्थ, नेपाल, आईएमई जनरल र यूनाइटेड इनस्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेकामध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको शिखरले सेयरधनीलाई कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई कुल १३.१५७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिन दिने निर्णय गरेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी उक्त अनुपातमा लाभांश दिने भएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

आइएमई जनरलले गत वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीहरुलाई कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ६.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिनेछ ।

यूनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्दैछ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् । कम्पनीले लभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारणसभा बोलाएको छ ।

प्रिमियर इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।

लाभांश प्रस्ताव र अन्य प्रस्ताव पारित गर्न कम्पनीले कम्पनीको वार्षिक साधारणसभा पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती बाहाल, नक्साल, काठमाडौंमा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गतेदेखि साधारण सभा हुनेदिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार पुस २१ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।

सिद्धार्थ इन्स्योरेन्सको कम्पनी सञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ९.४७३७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ बराबरको नगद (कर सहित) प्रस्ताव गरी आर्थिक वर्ष २०७८÷७९ वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो ।

तर, प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि वितरण गर्ने भन्ने सशर्तसहित वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

जसअनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इन्स्योरेन्सले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रिमियरले आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश प्रस्ताव लगायतका अन्य प्रस्ताव पारित गर्न पुस २९ गते २१ औं वार्षिक साधारणभा बोलाएको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु