विप्रेषण कारोबारका लागि इजाजत लिन राष्ट्र बैंकले गर्यो थप व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्न इजाजत लिन चाहने फर्म, कम्पनी वा संस्थाका लागि आवश्यक विनियमावलीहरुमा संशोधन गरेको छ ।

राष्ट्र बैंकले विदेशी कारोबार गर्न इजाजत लिएका सबै निकायका लागि अवाश्यक विनियम संशोधन गर्दै थप व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली–२०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली– २०७७ र नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजत तथा निरीक्षण विनियमावली–२०७७ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७ मा संशोधन गर्दै विप्रेषणको कारोबारका लागि इजाजत लिन चाहने फर्म, कम्पनी वा संस्थाले त्यस्तो कारोबार गर्न इजाजत लिन निवेदन दिनका लागि थप व्यवस्था गरेको छ । जसमा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली– २०७७ लाई शंसोधन गरेको छ । राष्ट्र बैंकले मनिचेञ्जर इजाजतका लागि निवेदन दिँदा आवश्यक व्यवस्था थप गरेको छ । राष्ट्र बैंकले विनियम ४ को उपविनियम ३ मा बुँदा ‘ट’ थपेको । ‘ट’ बुँदामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने छ ।

यस्तै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजत तथा निरीक्षण विनियमावली-२०७७ लाई पनि संशोधन गरेको छ । कम्पनीले विदेशी कारोबार गर्नका लागि फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र लिने बेलामा निवेदन दिँदा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमि देखिएको भए सजाय भोगेको ५ वर्ष पुरा गरेको प्रमाण पेश गर्नुपर्ने छ ।


क्लिकमान्डु