चोभार भन्सार कार्यालयबाट पाँच महिनामा करिब २१ करोडको वैदेशिक व्यापार



काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा चोभार भन्सार कार्यालयबाट करिब २१ करोडको वैदेशिक व्यापार गरेको छ । गत चैतबाट सञ्चालनमा आएको भन्सार कार्यालयले साउदेखि मंसिरसम्ममा २० करोड ९३ लाख १६ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

पाँच महिनामा चोभार भन्सार कार्यालयबाट २० करोड ६० लाख रुपैयाँको वस्तु आयात गरेको छ भने ३३ लाख रुपैयाँको निर्यात गरेको छ ।

विश्व बैंकको सहयोगमा १ अर्ब ६७ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको सुक्खा बन्दरगाह आएको ८ महिना बितिसकेको छ । सञ्चालनमा आएको ८ महिनामा उक्त भन्सार कार्यालयबाट ३१ करोड ३७ लाख ६३ हजार रुपैयाँको मात्रै वैदेशिक व्यापार भएको छ । जुन निकै कम हो ।

सरकारले निकासी तथा पैठारीमा सहज, छिटो र कम लागत हुने उद्देश्यका साथ सञ्चालनमा ल्याएको सुक्खा बन्दरगाहमा अपेक्षाअनुसार कन्टेनर भित्रिन सकेको छैन । यसअघि नै नेपाल इन्टरमोडल यातायात विकास समिति र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा निजी क्षेत्रहरुसँग छलफल गरेका थिए ।

छलफलमा निजी क्षेत्रका उद्योगीहरुले चोभार भन्सार सञ्चालन गर्न केही समयका लागि वस्तु आयात तथा निर्यात गर्दा छुट दिनुपर्ने माग गरेका थिए । त्यस्तै, उद्योग मन्त्रालयका तत्कालीन उद्योगमन्त्री दिलेन्द्र बडूले चोभार भन्सार पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै, समिति गठन गरेर समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए । तर, अहिलेसम्म पूर्णक्षमतामा चोभार भन्सार सञ्चालनमा कुनै कार्य अगाडि बढ्न सकेको छैन ।


क्लिकमान्डु