नेप्सेको निर्देशनपछि १३ कम्पनी सञ्चालकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को निर्देशनपछि सूचीकृत संगठित संस्थाले धमाधम सञ्चालकको सेयर कारोबार रोक्का गर्न थालेका छन् ।

नेप्सेले मंसिर २८ गते सबै सूचीकृत संगठित संस्थालाई १५ दिनभित्र कारोबार रोक्का राखेको जानकारी गराउने भनेको छ ।
अहिलेसम्म विभिन्न १३ भन्दा बढी संगठित संस्थाहरुले आफ्नो संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव तथा संस्थाको व्यवस्थापन, लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिको नाममा रहेको सेयर रोक्का राख्न लगाएका छन् ।

यसरी कारोबार रोक्का गर्न लगाउने कम्पनीमा सोल्टी होटल, एक्सेल डेभलपमेन्ट बैंक, आदर्श लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, आँखुखोला जलविद्युत कम्पनी, गुँरास लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था,, महुली लघुवित्त वित्तीय संस्था, सानिमा बैंक, छ्याङदी हाईड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक रहेका छन् ।

पछिल्लो समय सञ्चालक तथा अध्यक्षले नै पदमा भएको समयमा सेयर बिक्री गरेको, सञ्चालकबाट छोडेको एक वर्ष नपुगी सेयर बिक्री गरेको पाइएपछि नेप्सेले सबैको सेयर रोक्का गर्नभन्दै सबै कम्पनीलाई पत्राचार गरेको छ ।

सञ्चालकबाट राजीनामा दिएको १ वर्ष नबित्दै सेयर बिक्री गरेको भन्दै धितोपत्र बोर्डले हिमालयन डिस्ट्रिलरी कम्पनीको सञ्चालकलाई ७५ हजार जरिवाना तिराएर १० वर्ष कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक हुन नपाउने गरी कारबाही गरेको छ ।

नेपाल हाइड्रो डेभलोपरको अध्यक्ष भएको समयमा एकाघरका परिवारका सदस्यको सेयर बिक्री गरेको भन्दै कारबाही गर्ने भएको छ । हिमालयन डिस्ट्रिलरी र नेपाल हाईड्रो डेभलोपरको समाचार क्लिकमाण्डूले प्रकाशन गरेपछि बोर्डले कारबाहीको प्रकृया अघि बढाएको हो ।

बोर्डले रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरु न्यौपानेलाई पनि पदमा रहेको समयमा सेयर बिक्री गरेको भन्दै बोर्डले कारबाही गर्ने भएको छ ।

अध्यक्ष तथा सञ्चालकले नै पदमा भएको समयमा धमाधम सेयर बिक्री गर्न थालेपछि नेप्सेले कानून सम्झाएर नै कारोबार रोक्का राख्न भनेको छ ।

‘प्रस्तुत विषयमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार “संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ भन्ने व्यवस्था रहेकोले सम्पूर्ण सूचीकृत कम्पनीहरुले उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको शेयर सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्नु हुन धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार यो निर्देशन जारी गरिएको छ । उपर्युक्त अनुसार १५ दिन भित्र शेयर रोक्का राखी जानकारी गराउनु हुन एवं नयाँ हुने उल्लेखित पदाधिकारीहरुको उपर्युक्त अनुसार शेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्नुहुन समेत अनुरोध छ’ नेप्सेको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु