३.२ लाख मेट्रिक टन मल आयात, थप ९० हजार मेट्रिक टन ल्याउने तयारी



काठमाडौं । चालु आर्थिक वर्षमा नै सरकारले थप ९० हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ ।

कृषि मन्त्रालयकाअनुसार चालु आवमा हालसम्म दुई पटक गरेर सरकारले दिएको अनुदानबाट १.५ लाख मेट्रिक टन र १.७ लाख मेट्रिक टन मल आयात गरिएको छ ।

जसमध्ये बजेटमार्फत नै छुट्याइएको १५ अर्ब बापत १.५ लाख मेट्रिक टन मल आयात गरिएको थियो भने पछिल्लो पटक १६ अर्ब रकममार्फत १.७ लाख मेट्रिक टन मल आयात गर्ने निर्णय भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलकाअनुसार पछिल्लो पटकका लागि कृषि मन्त्रालयसँग बजेटको स्रोत सुनिश्चितता लिइ सकिएको छ ।

त्यस्तै, मन्त्रालयले थप ९० हजार मेट्रिक टन मल ल्याउनका लागि समेत प्रक्रिया शुरु गरेको छ ।
मन्त्रालयकाअनुसार चालु आवमै मल खरिदको प्रक्रिया पूरा गर्ने गरि चालू अन्तर्राष्ट्रिय बजार मूल्य‍अनुसार ७ अर्ब ८३ करोड रुपैयाँको स्रोत सुनिश्चितता गर्ने प्रक्रिया शुरु भएको छ ।

हालसम्म मल खरिदका लागि ३१ अर्ब

चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले रसायनिक मल खरिदका लागि ३१ अर्ब रकम छुट्याइसकेको छ । जसमध्ये १५ अर्ब रुपैयाँ चालु आवको बजेटमार्फत नै छुट्याइएको हो भने थप १६ अर्ब केही समयअघि मन्त्रालयले स्रोत सुनिश्ति गर्ने छुट्याएको हो ।
यो रकममध्येबाट १ लाख ५० हजार मेट्रिक टन मल सुरुवाती बजेटमार्फत ल्याइएको छ ।

देशमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमार्फत् रसायनिक मल ल्याइन्छ । कृषि मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङलाई निश्चित प्रतिशत छुट्याएर मल खरिद गर्नका लागि अनुदान दिने गर्छ ।

सुरुवातमा छुट्याइएको १५ अर्ब बापतको कृषि सामग्री कम्पनी लिमिटेडले सम्पूर्ण मल ल्याइसकेको कायममुकायम प्रबन्ध निर्देशक राजेन्द्र बहादुर कार्की बताउँछन् ।

त्यस्तै, मन्त्रालयले हालसालै मात्र थप १६ अर्ब रकम मल आयात गर्नका लागि अनुदान छुट्याएको छ । जसमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिडेट र ३० प्रतिशत साल्ट ट्रेडिङका लागि दिइएको छ । कार्कीकाअनुसार यसमध्येबाट ११ अर्ब बराबरको मल आफूहरुले आयात गरिएको छ ।

चालु आवमा थप ९० हजार मेट्रिक टन मल ल्याइने

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा थप ९० हजार मेट्रिक टन रसायनिक मल ल्याउने गरि बजेट छुट्याइने तयारी भइरहेको छ । हालको अन्तर्राष्ट्रिय बजार मूल्यलाई ध्यानमा राख्दै मन्त्रालयले ७ अर्ब ८३ करोड रुपैयाँको स्रोत सुनिश्चिता लिएर मल खरिदको प्रक्रिया अघि बढाउन लागेको छ ।

‘आगामी वर्षको भदौमा धानबालीका लागि आवश्यक मल ल्याउने अहिलेबाटै प्रक्रिया शुरु गर्नुपर्छ,’ मन्त्रालयका प्रवक्ता सञ्जेल भन्छन्, ‘त्यसका लागि अहिलेबाटै मल खरिदका लागि रकम छुट्याएर काम अघि बढाउने तयारी भइरहेको छ ।’

हरेक मौसममा खेती हुने बालीका लागि आवश्यक मल ल्याउनका लागि केही महिना अघिबाटै प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ । बजेट सुनिश्चित गर्ने, टेण्डर खोल्ने, मल ल्याउन लाग्ने समयलगायत सम्पूर्ण प्रक्रियाको अवधीलाई ध्यानमा राख्दै मललाई खेती हुने बालीका लागि आवश्यक समयमा नेपालमा उपलब्ध हुने गरि प्रक्रिया पूरा हुनुपर्छ । सामान्यतयः ६ महिना अघिबाटै मल ल्याउने प्रक्रियालाई अघि बढाइन्छ । जसकारण आगामी वर्षको भदौंका लागि चाहिने मल ल्याउने अहिले नै प्रक्रिया शुरु गरिने मन्त्रालयका प्रवक्ता सञ्जेल बताउँछन् ।

यो सँगै कृषि सामग्री कम्पनी लिमिटेडले आगामी वर्षको बजेटबाट हुने गरि थप २ लाख मेट्रिक टन रसायनिक मल ल्याउने निर्णय गरेको कायममुकायम प्रबन्ध निर्देशक राजेन्द्र बहादुर कार्की बताउँछन् । उनी भन्छन्, ‘आगामी वर्षकै लागि चाहिने मल ल्याउने प्रक्रिया शुरु गर्ने गरि २ लाख मेट्रिक टन मल ल्याउने निर्णय गरेका छौं । अहिले नै प्रक्रिया शुरु नगरे समयमा मल आउँदैन ।’

यसका लागि आगामी वर्षको बजेट वापतको रकमबाट मल ल्याउने तयारी भएको छ । २ लाख मेट्रिक टन मल ल्याउनका लागि हालको बजार मूल्यअनुसार १३ अर्ब ५० करोड रुपैयाँ लाग्ने कार्की बताउँछन् ।

१ लाख १० हजार मेट्रिक टन मल आउने तयारीमा

कृषि सामग्री लिमिटेडमार्फत नेपाल ल्याउनका लागि हाल १ लाख १० हजार मेट्रिक टन मल तयारी अवस्थामा रहेको छ । कायममुकायम प्रबन्ध निर्देशक कार्कीकाअनुसार सरकारले पछिल्लो पटक अनुदानका रुपमा सुनिश्चित गरेको १६ अर्ब रुपैयाँमध्येबाट देशमा भित्राउनु पर्ने १ लाख ७० हजार मेट्रिक टन मलमध्ये कृषि सामग्री कम्पनी लिमिडेटको भागमा परेको १ लाख १० हजार मेट्रिक टन मल अहिले आयात हुने क्रममा रहेको छ ।

यसमध्ये जिटुजि प्रक्रियाबाट खरिद भएको ३० हजार टन युरिया अबको केही दिनमा नै नेपाल आइपुग्ने उनी बताउँछन् । ‘जिटुजिमार्फत आउने ३० हजार मेट्रिक टन मल अबको ७–९ दिनभित्रमा नेपाल आइपुग्छ’ उनी भन्छन् ।

सँगै थप ५० हजार मेट्रिक टन मल आयातका लागि नगद मार्जिन (एलसी) खुलाइएको छ भने थप २० हजार मेट्रिक टन मल आयातका लागि पनि एलसी खुलाउने तयारी रहेको कार्की बताउँछन् ।


युवराज भट्टराई