सवा १ अर्ब लगानीमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी बन्ने



काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा सवा १ अर्ब लगानीमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी निर्माण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले मूलपानीमा १ अर्ब २८ करोड ६६ लाख रुपौयँ लगानीमा क्रिकेट एकेडेमी निर्माण गर्ने भएको हो । परिषदले २९४ रोपनी ११ आना र २ पैसा (१ लाख ४९ हजार ९३३ वर्गमिटर) क्षेत्रफलमा क्रिकेट एकेडेमी निर्माण गर्नेछ ।

परिषदको स्वामित्वमा रहेको उक्त जग्गामा १५ हजार जना मानिस अट्ने क्षमतामा निर्माण गर्ने तयारी गरेको हो ।
परिषदले क्रिकेट एकेडेमी बनाउनका लागि वातावारणीय प्रभाव मूल्याङ्कन तयार गरिसकेको छ ।

उक्त आयोजनाको इआईएअनुसार परिषदले १४ हजार ४८७ वर्गमिटरमा बिल्ट अप गर्नेछ भने बाँकी १ लाख ३५ हजार ४४६ वर्गमिटर क्षेत्रफल खुल्ला रहनेछ ।

एमेडेमीमा दुईवटा खेल मैदान हुनेछ । जसमा एउटा खेलमैदान १७ हजार ५९८ वर्गमिटरमा र अर्को खेलमैदान १५ हजार ३३५ वर्गमिटरमा निर्माण गर्नेछन् ।

त्यसैगरी, एमेडेमीमा १७ सय २२ वर्गमिटरमा प्याभिलियन, २४.७५ वर्गमिटरमा गार्ड हाउस, ११४.६ वर्गमिटरमा टिकट काउन्टर, २७४.१५ वर्गमिटरमा सार्वजनिक शौचालय, १३ सय ३९.१५ वर्गमिटरमा अभ्यास नेट, ७४६.२७ वर्गमिटरमा होस्टल ब्लक, ७५८.२३ वर्गमिटरमा रेष्टुरेन्ट, ५५८.७४ वर्गमिटरमा स्वीमिङ पुल, २६५.५६ वर्गमिटरमा जीम हल, २.४ वर्गमिटरमा गार्ड पोस्ट र ४२९.४७ वर्गमिटरमा खेलाडीको ब्लक निर्माण गर्नेछ ।

त्यसैगरी, ९५८०.४६ वर्गमिटरमा बाटो क्षेत्र, १६ हजार ५६०.८७ वर्गमिटरमा हरियाली क्षेत्र र ६७१०.९४ वर्गमिटरमा बगैंचा क्षेत्र निर्माण गर्नेछ । साथै, एकेडेमीमा एक हजारवटा दुई पाङ्ग्रे र ३८० वटा चार पाङ्ग्रे सवारी साधन अट्ने गरी ६६९६.८२ वर्गमिटरमा सवारी पार्किङ निर्माण गर्ने भएको छ ।

परिषदले पहिलो चरणमा ५३ करोड ८ लाख रुपैयाँ, दोस्रो चरणमा ३७ करोड ३६ लाख रुपैयाँ, तेस्रो चरणमा ३३ करोड ८१ लाख रुपैयाँ र सडक स्थानान्तरणका लागि ४ करोड ३९ लाख रुपैयाँ खर्च हुने उल्लेख गरेको छ ।


क्लिकमान्डु