आईपीओ निष्काशन गर्ने तयारीमा रहेको नर्भिकद्वारा ४० प्रतिशत लाभांशको घोषणा



काठमाडौं । साधारण सेयरको प्राथमिक निश्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।

नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ ।

हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ ।
घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।

गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो ।


क्लिकमान्डु