सीजी ब्रुअरीले एकै वर्ष गर्यो साढे ४ अर्बको व्यापार, नेपाल आइस र मुस्ताङ स्ट्रङ ३८ लाख केस बिक्री



काठमाडौं । सीजी ब्रुअरीले नेपालले एकै वर्ष साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनी सन् २०२२ मा ४ अर्ब ५४ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ४४ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र सन् २०१८ मा २ अर्ब ९९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

चौधरी ग्रुपद्वारा सञ्चालित यस कम्पनीले नेपाली बजारमा विभिन्न १० वटा ब्रान्डको बियर उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले स्ट्रङ र प्रिमियम दुबै खालको बियर उत्पादन गर्दै आएको छ । त्यसमध्ये नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ ब्रान्डको बियर निकै नै चर्चित छन् ।

कम्पनीअनुसार सन् २०२२ मा मात्रै उक्त दुई प्रकारको बियर मात्रै ३८ लाख केस बिक्री भएको उल्लेख छ । सीजी ब्रुअरी बियर क्षेत्रको स्थापित कम्पनी हो । कम्पनीले देशभर तीन सय डिलर र ५३ हजारभन्दा बढी खुद्रा पसल छन् ।

कम्पनीमा सबैभन्दा बढी ३८ प्रतिशत हिस्सा सीजी फुड नेपालको छ । त्यसबाहेक अन्य शेयर चौधरी ग्रुपकै तीन जना व्यक्तिको हिस्सा छन् ।

निरभानाकुमार चौधरी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २६ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले पछिल्लो दुई वर्षमा आम्दानी गरेकोमध्ये ८० प्रतिशत नेपाल आइस र मुस्ताङबाट गरेको जनाएको छ । सन् २०२२ मा १५ लाख केस नेपाल आइस र १२ लाख ८० हजार केस मुस्ताङ प्रिमियम स्ट्रङ बियर बिक्री गरेको छ । सन् २०२१ मा कम्पनीले ११ लाख केस मुस्ताङ बियर बिक्री गरेको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये ७७ प्रतिशत (अपरिष्कृत) नेपाल आइस र मुस्ताङको रहेको जनाएको छ ।

कोरोना महामारीले गर्दा कम्पनीको व्यापार २८ प्रतिशतले घटेको थियो । तर, समग्रमा २०१८ देखि २०२२ सम्ममा कम्पनीको व्यापार ११ प्रतिशतले बढेको जनाएको छ ।


क्लिकमान्डु