सेयर लगानीकर्ताको हात खाली बनाएको ज्योती लाइफले सीईओलाई दियो ८३ लाख बढी तलब, भत्ता
काठमाडौं । लाभांश नदिएर सेयरधनीको हात खाली बनाएको ज्योती लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ८३ लाख ३७ हजार ६२५ रुपैयाँ तलब भत्ता दिएको छ ।
बीमा कम्पनीले सीईओ प्रकाश बिक्रम खत्रीलाई आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम तलब भत्ता बापत भुक्तानी गरेको हो । उक्त आवको नाफाबाट कम्पनीले सेयरधनीलाई भने कुनै लाभांश दिएको छैन ।
उक्त आवमा कम्पनीका अन्य मुख्य पदाधिकारीले ९१ लाख ७३ हजार ५५ रुपैयाँ तलब भत्ता लिएका छन् ।
उक्त आवमा कम्पनीले सञ्चालकलाई वैठक लगायत अन्य समितिहरुको बैठक भत्ता वापत २० लाख १६ हजार तथा भ्रमण भत्ता सुविधा वापत ५ लाख ७८ हजार ३०० रुपैयाँ उपलब्ध गराएको छ ।
कम्पनीले सञ्चालक समितिलाई मात्रै बैठक भत्ता बापत १० लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको छ । सञ्चालक समितिको बैठकमा अध्यक्षले १२ हजार र अन्य सञ्चालकले १० हजार भत्ता लिने गरेका छन् । उक्त आवका कम्पनीले सञ्चालक समितिको २२ वटा बैठक बोलाएको थियो ।