अनलाइन रिपोर्टलाई मान्यता दिन सर्भेयरको माग



काठमाडौं । बीमा सर्भेयरहरुले अनलाइन रिपोर्टलाई मान्यता दिन माग राखेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा मंसिर २८ गते बीरगञ्जमा सम्पन्न भएको बीमा सर्भेयरहरुसँग अन्तरक्रिया कार्यक्रममा सर्भेयरहरुले यस्तो माग राखेका हुन् ।

कार्यक्रममा सहभागि भएका सर्भेयरहरुले क्षति भएको जानकारी पाउना साथ सर्भेयरलाई खटाउनुपर्ने र सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने समेत धारणा राखे ।

कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राखेका हुन् ।

बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, बीरगञ्ज प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताइन् ।

बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दै जाने विचार व्यक्त गरे ।

बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउन बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए ।


क्लिकमान्डु