बीमा व्यवसायमा ४८.१२% योगदान बाग्मती प्रदेशको, कुन प्रदेशको कति ?



काठमाडौंं । बीमा व्यवसायमा बागमती प्रदेशको योगदान बढी देखिएको छ । अन्य प्रदेशको तुलनामा सुगम मानिने बागमती प्रदेशमा बीमा व्यवसायको ठुलो हिस्सा केन्द्रीत भएको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको ४८.१२ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा रहेको छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा कम्पनीहरुले ५९ अर्ब ३७ करोड एक लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले बागमती प्रदेशबाट २८ अर्ब ५६ करोड ६४ लाख रुपैया बीमाशुल् कसंकलन गरेका छन् । यो कुल बीमाशुल्कको ४८.१२ प्रतिशत हो ।

जीवन बीमा व्यवसायतर्फ ४२.३८ प्रतिशत र निर्जीवन बीमा व्यवसायतर्फ ६६.३१ प्रतिशत योगदान बागमती प्रदेशको रहेको प्राधिकरणको तथ्यांक छ ।

बाग्मती प्रदेशबाट जीवन बीमा कम्पनीहरुले १९ अर्ब ७० करोड ८७ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ४६ अर्ब एक करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट २ अर्ब ९६ करोड ३ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यो कुल बीमाशुल्कको १३.६४ प्रतिशत हुन आउँछ । लुम्बिनी प्रदेशबाट कम्पनीहरुले ८ अर्ब ९ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणकाअनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ८२ करोड २८ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले एक अर्ब २७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, लुम्बिनी प्रदेश पछि बीमा व्यवसायमा प्रदेश १ को योगदान बढी छ । प्रदेश नम्बर १ बाट बीमा कम्पनीहरुले ६ अर्ब ९२ करोड ८६ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

जुन कुल व्यवसायका ११.६७ प्रतिशत हुन आउँछ । यस अवधिमा प्रदेश १ बाट जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब १३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा व्यवसायमा मधेश प्रदेशको योगदान ८.७५ प्रतिशत, गण्डकी प्रदेशको योगदान ९.५० प्रतिशत, सुदुरपश्चिम प्रदेशको योगदान ४.४७ प्रतिशत र कर्णाली प्रदेशको योगदान ३.६५ प्रतिशत छ ।

बीमा कम्पनीहरुले चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा मधेश प्रदेशबाट ५ अर्ब १९ करोड ५६ लाख, गण्डकी प्रदेशबाट ५ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट २ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट २ अर्ब १६ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको बीमा प्राधिकरणको तथ्यांक छ ।


क्लिकमान्डु