ग्राहकसँग बढी असुल गरेको ३ अर्ब १० करोड फिर्ता गर्दै १८ बैंक (सूचीसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि १८ बाणिज्य बैंकले ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न शुरु गरेका छन् ।

राष्ट्र बैंकले नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने प्रक्रिया शुरु गरेका १८ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ ।

बिभिन्न बैंकका उच्च अधिकारीले उपलब्ध गराएको तथ्यांकअनुसार अहिलेसम्म राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका १८ बैंकले ३ अर्ब १० करोड १० लाख रुपैयाँ ग्राहको खातामा फिर्ता गर्न शुरु गरेका छन् ।

राष्ट्र बैंकको ताकेतापछि ग्राहकको खातामा बढी असुल गरेको ब्याज फिर्ता गर्नु पर्दा बैंकको नाफासमेत घटेको छ । गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक वित्तीय विवरणमा आम्दानी देखाएको ब्याज रकम बैंकले ग्राहकलाई फिर्ता गर्नु परेको हो ।

बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।

उक्त विवरण अध्ययनपछि राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले मंसिर १२ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै गत कात्तिक मसान्तसम्म कति ऋणीको खाता नियम विपरित असुल गरिएको ब्याज फिर्ता गरियो र ब्याज फिर्ता गर्न के कति रकम छुट्याइएको छ? भन्ने विषयमा १५ दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले ऋणीको नाम, बढी असुल गरिएको ब्याज रकम, खाता नम्बर, कर्जाको प्रकार ब्याज फिर्ताका लागि छुट्याइएको रकम र गत आर्थिक वर्षमा ब्याज फिर्ता गरिएको रकम लगायतका विषयमा विवरण दिन बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी रकम फिर्ता गर्नु परेको छ ।

स्रोतकाअनुसार नबिललाई नियम विपरित असुल गरेको ४६ करोड ५० लाख रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिइएको छ ।

साधारण सभा गर्न स्वीकृति पाएका बैंकहरु मध्ये स्टयाण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम रकम फिर्ता गर्नु परेको छ । चार्टर्डले सहवित्तीयकरणको लगानीमा बढी ब्याज लिएको बैंकका एक अधिकारीले जानकारी दिए । उनकाअनुसार बैंकले गत वर्ष नियम विपरित असुल गरेको ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

धेरै रकम फिर्ता गर्नु पर्ने बैंकमध्ये दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्न लागेको छ ।

यस्तै, सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाडौंले २६ करोड रुपैयाँ, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड रुपैयाँ, एनएमबी बैंकले १६ करोड रुपैयाँ, प्रभु बैंकले १५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड रुपैयाँ, सिटिजन्स बैंकले १२ करोड रुपैयाँ, मेगा बैंकले ११ करोड रुपैयाँ, सानिमा बैंकले ११ करोड रुपैयाँ, लक्ष्मी बैंकले ८ करोड रुपैयाँ, एनसीसी बैंकले ७ करोड ७० लाख रुपैयाँ, सेन्चुरी बैंकले ७ करोड रुपैयाँ र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेको छ ।
अहिलेसम्म राष्ट्र बैंकमा कृषि विकास बैंक बाहेकका सबै बैंकले वित्तीय विवरण बुझाइसकेको छ ।

‘मंसिर मसान्तसम्म २५ वटा बैंकले फिर्ता गर्नु पर्ने रकम टुंगो लाग्छ,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्,‘नियम विपरित ग्राहकलाई झुक्याएर बैंकले एक रुपैयाँ पनि लिन पाउँदैन् ।’

राष्ट्र बैंकले बढी असुल भएको ब्याज फिर्ता नभए ऋणीलाई उजुरी गर्न समेत आग्रह गरेको छ । ‘हामीले पुष मसान्तसम्म ऋणीको खातामा बढी असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यदी कुनै ग्राहकको खातामा रकम फिर्ता नभएमा हाम्रो कार्यालय र राष्ट्र बैंकको गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमा गएर समेत उजुरी गर्न सकिनेछ ।’


क्लिकमान्डु