गठबन्धनबाट अर्थमन्त्री बन्न आधादर्जन बढीको दौडधूप, कसले मार्ला बाजी ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको परिणाम आएपनि कसको र कस्तो सरकार बन्ला भन्ने अन्यौलता चरमरुपमा बढेको छ । किनभने, कुनै पनि राजनीतिक दल वा गठबन्धनको बहुमत नआएकाले सरकार गठन नै सकसपूर्ण बनेको छ ।

गठबन्धन बनाएर चुनावमा होमिएको सत्तारुढ गठबन्धनको पहिलो शक्ति कांग्रेस र दोस्रो शक्ति माओवादीले दुबैले प्रधानमन्त्री दाबी गरेकाले यो गठबन्धन जोगिन्छ वा भत्किन्छ भन्ने यकिन छैन ।

उता दोस्रो दल एमालेले पनि सरकार गठनका लागि पहल गरिरहेको छ । माओवादी कता जान्छ भन्ने टुंगो छैन । र, कांग्रेस र एमालेलाई माओवादीबाहेक अन्य दल लिएर सरकार गठन गर्न पनि असंभव छ ।

सरकार गठनका लागि बहुमत पुर्याउन ठूला दलले साना दल र स्वतन्त्र सांसदहरुको मोलमोलाइ शुरु गरिसकेका छन् । यसले आगामी राजनीतिक चरम अस्थिर हुने निश्चि छ ।

अस्थिर सरकारले नीतिगत स्थिरता दिन सक्दैन । नीतिगत अस्थिरताले अर्थतन्त्रलाई सुधार्न सक्दैन । किनभने, दलका नेता तथा मन्त्रीहरुको ध्यान र समय पद टिकाउनमै खर्च हुने विगतले प्रमाणित गरिसकेको कुरा हो ।

दशकौं अघिदेखि लागेको रोगको उपचार गर्न ढिला गरेका कारण अहिले नेपालको अर्थतन्त्र अहिले थला पारेको छ । मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा छ । यी समस्याको सम्बोधन अत्यन्तै संवेदनशील र स्थिर सरकारले मात्रै गर्न सक्नेमा कुनै सन्देह छैन।

अर्थतन्त्रका विद्यमान रोगहरु के के हुन् ? यो आलेख पढ्नुहोस् ।

अपबादबाहेक शेरबहादुर देवा, पुष्पकमल दाहाल वा केपी ओलीमध्ये एकजना प्रधानन्त्री बन्ने निश्चित छ । पटक पटक टेस्ट भइसकेका यी नेताबाट देशको विकास हुन्छ भन्नेमा आम सर्वसाधारण विश्वस्त छैनन् । त्यो उनीहरुले विगतमा गरेका कामबाट प्रमाणित भइसकेको कुरा हो । त्यसैले अर्थतन्त्र सुधारका लागि जनताको चासो अर्थमन्त्रतिर मोडिएको छ । तर, नयाँ अर्थमन्त्री को बन्ला भन्ने विषय झनै टुंगो लागेको छैन ।

यस्तो अवस्थामा अर्थतन्त्र बुझेको अर्थमन्त्रीले मात्रै अर्थतन्त्रका विद्यमान समस्या बुझ्छ । र, उसले प्रधामन्त्रीलाईसमेत कन्भिन्स गरेर उपचारको उचित औषधि पहिचान गरी अर्थतन्त्रलाई त्राण दिन सक्छ ।

अहिले देशले अर्थतन्त्र बुझेको अर्थमन्त्री पाएन भने नेपाल पनि श्रीलंका जस्तै टाट पल्टिने अवस्था धेरै टाढा छैन । चुलिँदो ब्यापारघाटाले विदेशी मुद्राको सञ्चिति जोगाउन हम्मेहम्मे परेको छ ।
अब बन्ने प्रधानमन्त्रीले अर्थतन्त्रका समस्या समाधान गर्नसक्ने व्यक्तिलाई देशको ढुुकुटीको चावी लगाउलान् कि नलगाउलान् ? यो भने हेर्न बाँकी नै छ ।

अर्थतन्त्र बुझेकारहरु संसदबाहिर, को बन्ला नयाँ अर्थमन्त्री ?

देशको अर्थतन्त्रलाई गहिरोसँग बुझेका डा. रामशरण महत, डा. स्वर्णिम वाग्ले र डा. युवराज खतिवडाजस्ता विद्वान यो पटक संसदमा छैनन् । महत र खतिवडा यसअघि अर्थमन्त्री भएर काम गरिसकेका छन् भने वाग्लेको टेस्ट भएको छैन । राजनीतिक अर्थशास्त्र बुझेका डा. मिनेन्द्र रिजाल र डा. गोबिन्दराज पोखरेलहरुले टिकट नै पाएनन् । थोरबहुत अर्थतन्त्र बुझेका डा. विश्व पौडेल र सुरेन्द्र पाण्डेले पनि चुनाव हारे ।

माथि उल्लेख गरिएका व्यक्तिहरु नै यो देशमा कहलिएका अर्थशास्त्री हुन् । उनीहरुसँग जनताको केही आशा र भरोसा गरेका थिए ।

सत्ता गठबन्धनका तर्फबाट सरकार बन्यो भने कांग्रेसको नेतृत्वमा सरकार गठन हुने संभावना बढी छ । माओवादीकोमा नेतृत्वमा निकै कम छ ।

दौडमा को को छन् ?

तर, कांग्रेसबाट ६ जना र माओवादीबाट २ जना गरी जम्मा ८ जनाले अर्थमन्त्रीमा दाबी गर्दै दौडधूप तीब्र पारेका छन् ।

अब गठबन्ध दलमा अर्थमन्त्रीको संभावना खोजौं ।

मानौं कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । यो पटक देउवालाई अर्थ मन्त्रालय आफ्नै पार्टीसँग राख्ने मन छ । र, दबाब पनि । किनभने, अर्थतन्त्र सुधारको जिम्मा सरकारको नेतृत्व गर्ने दल र व्यक्तिलाई जान्छ । यस अर्थमा देउवा गठबन्धनका अन्य दललाई गृह मन्त्रालय दिएर अर्थ मन्त्रालय कांग्रेससँगै राख्ने पक्षमा छन् । उद्योगी व्यवसायीको दबाब पनि त्यही छ । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको अ पनि नबुझेकाले उनीबाट समस्याको समाधान हुन नसक्ने सरोकारवालाहरुको बुझाइ छ ।

रामशण महत, स्वर्णिम वाग्ले, गोविन्दराज पोखरेल, मिनेद्र रिजालहरु संसद् नभएकाले देउवालाई पनि अर्थतन्त्रको व्यवस्थापन गर्नसक्ने व्यक्ति पाउन कठिन छ ।

कांग्रेसबाट प्रत्यक्षमा जितेका ५७ जनामध्ये अर्थतन्त्र बुझेका खासै सांसद् छैनन् ।

कांग्रेसले अर्थमन्त्री पायो भने अर्थमन्त्रीका लागि प्रत्यक्ष चुनाव जितेका २ जना स्वाभाविक दाबेदार हुन् । ललितपुरबाट निर्वाचिन उदय शमशेर राणा र पश्चिम नवलपरासी १ बाट निर्वाचित विनोद चौधरी । दुबैजना टेस्ट हुन बाँकी छन्, जसकारण उनीहरुबाट केही हुन्छ कि भन्ने अपेक्षा आम जनतामा छ ।

अर्थराज्य मन्त्री भएर अर्थतन्त्रलाई बुझ्ने मौका पाएका राणा अर्थशास्त्रकै विद्यार्थीसमेत हुन् । त्यसैले अर्थमन्त्रीका लागि राणा सत्ता गठबन्धनका तर्फबाट स्वाभाविक बलिया दाबेदार हुन् । उनी युवा पनि भएकाले उनीप्रतिको समाजको अपेक्षा छ ।

चौधरी आफू फगत राजनीति गर्न नभइ अर्थतन्त्रको रुपान्तरण गर्न सक्रिय राजनीतिमा आएको र त्यसका लागि आफूसँग प्रष्ट खाका भएको भन्दै अर्थमन्त्रीमा बलियो दाबी प्रस्तुत गरिरहेका छन् ।

साढे ४ दशक सक्रिय व्यवसाय गरेका चौधरी विश्वका धनाड्यहरुको सूचि सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनले डलर अर्बपतिका रुपमा समाबेस गरेका एकमात्र नेपाली नागरिक हुन् । फोर्ब्सका अनुसार अहिले चौधरीसँग १ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् झन्डै २ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ । चौधरीको सबैभन्दा ठूलो अन्तराष्ट्रियस एक्सपोजर नै यही हो । त्यतिमात्रै होइन, उनले आफ्नो व्यापारिक साम्राज्यलाई ३० देशमा फैलाएका छन् । त्यसैले चौधरीलाई बनायो भने उनले केही सुधारका काम गर्छन् कि भन्ने आशा कांग्रेसभित्र र कांग्रेस बाहिर पनि छ । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोवल उच्च बनाउनु पर्ने हुन्छ, जुन चौधरी अर्थमन्त्री हुँदा अरुले भन्दा बढी निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सक्ने देखिन्छ ।

त्यसबाहेक अहिलेका परराष्ट्रमन्त्री डा. नारायण खड्का, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की पनि अर्थमन्त्रीको दौडधूपमा छन् । प्रकाशशरण महतको सामाजिक छाप खासै राम्रो छैन । पटक पटक मन्त्री हुँदा पनि देखिने गरी सुधारका काम गर्न नसकेको भन्दै कांग्रेसभित्रै आलोचना भइरहेको छ । यद्यपि उनलाई एकपटक अर्थमन्त्री बन्ने रहर छ, देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने रहर भएजस्तै । यसअघि अर्थमन्त्री भएर पनि बजेट ल्याउन नपाएका कार्कीलाई फेरि पनि अर्थमन्त्री बन्ने रहर छ । तर, सुधार गर्ने कुनै ठोस भिजन छैन । अर्कोतर्फ कांग्रेसभित्रै उनीहरुले पटक पटक मन्त्री बन्ने अबसर पाएको भन्दै चर्को आलोचना पनि भइरहेको छ ।

मानौं माओवादीले अर्थमन्त्रालय पायो भने संभावित अर्का पात्र हुन् वर्षमान पुन । एक पटक अर्थमन्त्री भइसेका पुनमा पनि अहिलेको संकट टार्नसक्ने क्षमता छैन । तर, जनार्दनको भन्दा सरोकारवालाको कुरा सुन्ने धैर्यता र शालिनता भएको अर्थमन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । वर्षमानको स्वास्थ्यले राम्रो साथ दिएको छैन ।

अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि नयाँ सरकारको अर्थमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टीमा प्रचण्डलाई र गठबन्धनमा देउवापत्नी आरजूलाई खुसी बनाउन हरसंभव लागि परेको स्रोतहरुको दाबी छ ।

तर, उनै शर्माले सही नीति लिन नसक्दा र सरोकारवाला निकायहरुबीच समन्वय गरेर अघिबढ्न नसक्दा देशको अर्थतन्त्र दिनानुदिन थला पर्दै आएको छ । अर्थमन्त्रालयका कतिपय अधिकारीहरु त जनार्दन शर्मा अर्थ मन्त्रीबाट हटेकै दिनदेखि अर्थतन्त्रमा सुधारका काम हुने बताउँछन् । शर्माको व्यवहारले हायलकायल भएका कर्मचारीहरुको मनोवल निकै कमजोर छ ।

‘अहिले राजनीति बुझेको भन्दा पनि अर्थतन्त्रका प्राविधि कुरा बुझेको मन्त्रीको खाँचो छ जुन माओवादीबाट त संभव नै छैन,’ एक पूर्वअर्थसचिवले भने, ‘यसअघि पटक पटक मन्त्री भएर माखो मार्न नसकेका कांग्रेसका दाबेदारहरुबाट पनि केही होला कि भनेर अपेक्षा गर्नु भनेको मुर्खता शिवाय केही हुन सक्दैन । त्यसैले टेस्ट हुन बाँकी रहेका दाबेदार बिनोद चौधरी र उदय राणालाई बनाउने हो भने केही होला कि ।’


सोभित थपलिया