‘अटोमोबाइल्स व्यवसायीहरूले आत्महत्या गर्ने स्थिति नआओस्’



विराटनगर । अटोमोबाइल्स व्यवसायीहरूले सरकारको गलत नीतिका कारण मार्कामा परेको बताएका छन् । उनीहरुले व्यवसायीले आत्महत्या गर्ने स्थिति नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार विराटनगरमा धर्नापछि कोणसभा आयोजना गर्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बिहीबार विराटनगरमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो व्यानर र प्लेकार्ड बोकेर यहाँको जनआन्दोलन चोकमा शान्तिपूर्ण धर्ना दिए ।

उनीहरूले नेपाल राष्ट्र बैंक र सरकारका गलत नीतिका कारण अटोमोबाइल्स क्षेत्र जोखिममा परेकोले त्यसलाई समयमै सुधार गरेर समस्या समाधान गर्न माग गरेका छन् ।

धर्नापछि आयोजित कोणसभामा नाडाका केन्द्रीय उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का सदस्य सुभाष आचार्यले राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका क्रममा स्पेट दरमा संशोधन गर्दै ४ प्रतिशत बनायो, यसले अटोमोबाइल्स क्षेत्रका लागि ललीपपजस्तो जस्तो महसूस भएको बताए ।

उनले अटोमोबाइल्स व्यवसायीहरूका माग पूरा नगरे उनीहरूले राष्ट्र बैंक अगाडि आत्मदाह गर्ने अन्तिम अवस्था नआओस् भन्ने चेतावनी दिंदै शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा नलिन आग्रह गरे ।

किनकि यतिखेर ३० प्रतिशत अटोमोबाइल्स व्यवसायीहरू कर्जा तिर्न नसकेर बैंकको खराब बढेको छ, पुस मसान्तपछि यो प्रतिशत बढेर ७०÷७५ खराब कर्जा पुग्ने अवस्था आउने उनको दाबी थियो ।

सरकारले पुस १ गतेदेखि आयात प्रतिबन्ध खुल्ला गर्ने भने पनि त्यसले अटोमोबाइल्स व्यवसायीहरूका लागि बैंकमा लगानीयोग्य रकम नै छैन भन्दै उनले यसबाट समस्याको दीर्घकालीन समाधान नहुने उनको भनाइ छ ।

सोही क्रममा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ का अध्यक्ष संजयकुमार श्रेष्ठले अटोमोबाइल्स व्यवसायीहरूले भोग्नु परेको १७÷१८ प्रतिशत बैंक व्याजदरका कारण व्यवसायबाट हात धुनुपर्ने स्थिति आइलागेको बताए । नाडाले ७ प्रदेशमा नै बिहीबार विरोध प्रदर्शन आयोजना गरेको थियो ।


क्लिकमान्डु