काठमाडौंको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छः पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।

बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौं उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताए ।

उनले आफूले पर्यटन विकासको कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको दाबी गरे ।

नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडी बढाएको उनको भनाइ थियो ।

काठमाडौं उपत्यका प्रकृति र मौसमका कारणले पनि सधैँभरी घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरुलाई जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले सम्पदा तथा संस्कृतिहरुको संरक्षणका लागि जनस्तरबाट पनि काम हुनुपर्ने बताए । सरकारी प्रयास सँगसँगै जनस्तरबाट पनि काम गर्न सके सम्पदाहरुको संरक्षण गर्न सकिने र मौलिकतालाई कायम राख्न सकिने उनको भनाइ छ ।


क्लिकमान्डु