कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ अर्ब ३५ करोडमाथि, कुनको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले यस अवधिमा ९ लाख १९ हजार १३८ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

कात्तिक महिनामा मात्रै कम्पनीहरुले दुई अर्ब ५१ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । कम्पनीहरुले कात्तिक महिनामा २ लाख २९ हजार ६७० वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन्।

निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी परेको छ । चार महिनाको अवधिमा कम्पनीले एक अर्ब ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा राष्ट्रिय बीमा कम्पनी पछि शिखर, सगरमथा र नेको इन्स्योरेन्स परेका छन् । यी कम्पनीहरुले एक अर्ब भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

यी चार कम्पनीको व्यवसाय अर्बमाथि

यस अवधिमा शिखरले एक अर्ब २७ करोड तीन लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ८१ हजार ६३८ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सगरमथा इन्स्योरेन्सले यस अवधिमा एक अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेको इन्स्योरेन्सले पनि एक अर्ब ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार अन्य कम्पनीको व्यवसाय भने अर्बभन्दा कममा नै सीमित छ ।

नौ कम्पनीले गरे ५० करोडभन्दा माथिको व्यवसाय

तथ्यांकअनुसार नौ कम्पनीले ५० करोड भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । सिद्धार्थ, हिमालयन एभरेष्ट, एनएलजी, लुम्बिनी जनरल, आइएमई जनरल, ओरिएण्टल, नेपाल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले ५० करोड रुपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका हुन् ।

चार महिनाको अवधिमा सिद्धार्थ इन्स्योरेन्सले ९४ करोड ५५ लाख, हिमालयन एभरेष्टले ९० करोड ९६ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ७८ करोड ७ लाख, प्रिमियर इन्स्योरेन्सले ६९ करोड ४६ लाख, लुम्बिनी जनरलले ६६ करोड ५५ लाख रुपैयाँ, आइएमई जनरलले ६१ करोड १८ लाख, नेपाल इन्स्योरेन्सले ५५ करोड ३३ लाख, ओरिएण्टलले ५० करोड २९ लाख र अजोड इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

यी हुन् ५० करोडभन्दा कमको व्यवसाय गर्ने कम्पनी

प्राधिकरणको तथ्यांकअनुसार सात कम्पनीले भने ५० करोड भन्दा कमको व्यवसाय गरेका छन् ।

प्रभु, प्रुडेन्सियल, यूनाइटेड, नेशनल, सानिमा जनरल, जनरल इन्स्योरेन्स र सानिमा जिआईसीले ५० करोड रुपैयाँ भन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ८७ लाख, यूनाइटेड इन्स्योरेन्सले ४१ करोड १७ लाख, नेशनल इन्स्योरेन्सले ३७ करोड १६ लाख, सानिमा जनरलले ३० करोड १९ लाख र जनरल इन्स्योरेन्सले २६ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

एक आपसमा मर्जरमा गई कात्तिक ७ गतेदेखि एकीकृत कारोबार गरेका सानिमा जिआइसीले एकीकृत कारोबार गरेदेखि हालसम्म ११ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु