आठ जीवन बीमा कम्पनीको व्यवसाय घट्यो, कसको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४६ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ४.७९ प्रतिशतले घटेको हो । गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको कात्तिक महिनासम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ उक्त रकम संकलन गरेका हुन् ।

कात्तिक मसान्तसम्मा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ४२ हजार ३०९ वटा रहेको बीमा प्राधिकरणले जनाएको छ ।

गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कवापत १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कवापत ३५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त अवधिमा ९५ लाख ७ हजार ४२१ वटा बीमालेख जारी भएका थिए ।

आठ कम्पनीको व्यवसाय घट्यो
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांअनुसार गत आवको सोही अवधिको तुलनामा आठ कम्पनीको व्यवसाय घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार युनियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, प्रभु लाइफ, रिलायवल नेपाल, गुराँस लाइफ, एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानको व्यवसाय घटेको हो ।

व्यवसाय घट्ने यी कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क सबै भन्दा धेरै प्रतिशतले घटेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थानको व्यवसाय ६९.०५ प्रतिशतले घटेर १ अर्ब ४८ करोड १२ लाख रुपैयाँमा सीमित भएको हो । संस्थानले गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा गुराँस लाइफको व्यवसाय १३.८० प्रतिशत, एलआईसी नेपालको १२.४७ प्रतिशत, रिलायबल नेपालको १२.३४ प्रतिशत, प्रभु लाइफको ५.५२ प्रतिशत, मेट लाइफको ४.५५ प्रतिशत, प्राइम लाइफको २.८१ प्रतिशत र युनियन लाइफको २.३९ प्रतिशतले घटेको छ ।

यस अवधिमा गुराँसले ९४ करोड, एलआइसीले ५ अर्ब ७६ करोड, रिलायबलले १ अर्ब १४ करोड, प्रभुले ६७ करोड, मेट लाइफले १ अर्ब ६८ करोड, प्राइमले १ अर्ब ५३ करोड र यूनियनले २ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफ एक्लैले संकलन गर्यो करिब १३ अर्ब
नेपाल लाइफ एक्लैले १२ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको ।

गत आर्थिक वर्षको कात्तिकसम्ममा इन्स्योरेन्सले १२ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको तुलनामा इन्स्योरेन्सको व्यवसाय २.८८ प्रतिशतले बढेको हो ।

११ जीवन बीमा कम्पनीले बढाए व्यवसाय
यस अवधिमा ११ वटा कम्पनीले व्वसाय बढाएका छन् । गत आवको यसै अवधिको तुलनामा नेशनल लाइफको व्यवसाय २०.९२ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा नेशनलले ४ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

महालक्ष्मी लाइफको व्यवसाय १८.९२ प्रतिशतले बढेर ५२ करोड रुपैयाँ, आईएमई लाइफको १४.३२ प्रतिशतले बढेर एक अर्ब १५ करोड, ज्योति लाइफको १३.६७ प्रतिशतले बढेर १ अर्ब १८ करोड, सूर्या लाइफको १२.६१ प्रतिशतले बढेर एक अर्ब ७१ करोड र सिटिजन लाइफको १०.३९ प्रतिशतले बढेर एक अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, सन नेपाल लाइफ, एशियन लाइफ, सानिमा लाइफ, नेपाल लाइफ र रिलायन्स लाइफको व्यवसाय भने १० प्रतिशतभन्दा कमले बढेको छ ।

यस अवधिमा एशियनले २ अर्ब २७ करोड, सन नेपालले १ अर्ब ३४ करोड, सानिमाले ८१ करोड र रिलायन्सले एक अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु