सञ्चालनमा आएको ५ महिनामा अन्नपूर्ण केवलकारले गर्‍यो ३ करोड रुपैयाँ आम्दानी



काठमाडौं । पर्यटकीय नगरी पोखराको सेंदीमा रहेको अन्नपूर्ण केवलकारले ५ महिनाको अवधिमा ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

केवलकार गत वर्षको माघ महिनामा मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको ५ महिनामा अर्थात् सन् २०२२ मा ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा २ करोड ९० लाख रुपैयाँ टिकटबाट आम्दानी गरेको उल्लेख छ । साथै, २० लाख रुपैयाँ जग्गा भाडाबाट आम्दानी भएको कम्पनीको भनाइ छ ।

गत वर्ष केवलकार १४ प्रतिशत क्षमतामा मात्रै सञ्चालन आएको थियो । जसका सन् २०२२ मा ९० हजार १६३ जनाले केवलकारको यात्रा गरेका छन् । त्यसमध्ये २० हजार ७७६ जना विदेशी पर्यटकले केवलकार चढेको कम्पनीको भनाइ छ ।

कोरोना महामारीका कारण देशमा पर्यटक निकै कम भित्रिएको थियो । त्यसैले, सन् २०२२ मा कम्पनीले ३० लाख रुपैयाँ घाटामा गएको जनाएको छ ।

त्यस्तै, केवलकार निर्माणको लागत १२० प्रतिशतले बढेको छ । केवलकार निर्माणका लागि १ अर्ब ९७ करोड ३० लाख रुपैयाँ खर्च भएको जनाएको छ । त्यसमा अनुमान गरेको रकमभन्दा ८९ करोड ६० लाख बढी खर्च भएको जनाएको छ ।

कम्पनीले १ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋण लिएको छ भने ९० करोड रुपैयाँ इक्विटीबाट निर्माण गरेको उल्लेख छ । त्यस्तै, कम्पनीले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ऋण लिएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ र २ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

कालु गुरुङको स्वामित्व रहेको केवलकार २.३ किलोमिटरको लम्बाइमा निर्माण गरेको छ । जसमा १७ वटा गोन्डोला छन् । केवलकार सेंदी बगरदेखि साराङ्कोटसम्म छ ।


क्लिकमान्डु