तोकिएको समयभित्रै लेखापरीक्षण गरिएको वित्तीय विवरण पेस गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई तोकिएको समयभित्रै लेखापरीक्षण गरिएको वित्तीय विवरण प्राधिकरणमा पेस गर्न निर्देशन दिएको छ ।

बीमा ऐन, २०७९ को दफा ८७ बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्रचलित कानून बमोजिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ ।

यस्तै, उक्त ऐनको दफा ८४ को उपदफा २ बमोजिम प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेस गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुलाई सोही बमोजिम तोकिएको समयभित्रै लेखापरीक्षण गरिएको वित्तीय विवरण प्राधिकरणमा पेस गर्न ध्यानाकर्षण गराएको हो ।

‘उपरोक्त बमोजिमको वित्तीय विवरण पेस नगरेमा तथा लेखापरीक्षण नगररेमा ऐनको दफा १३८ आकर्षित हुने हँदा तोकिएको समयभित्रै लेखापरीक्षण गरिएको वित्तीय विवरण प्राधिकरणमा पेस गर्न ध्यानाकर्षण गराइएको छ’ समितिको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बीमा ऐनको दफा ८७ मा बीमकले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्रचलित कानून बमोजिम लेखापरीक्षण गराउनुपर्ने उल्लेख छ ।

बीमकले लेखापरीक्षण गराउनु पर्ने म्यादभित्र लेखापरीक्षण नगराएको अवस्थामा समेत प्राधिकरणले जरिवाना गर्न सक्नेछ । यस्तो अवस्थामा प्राधिकरणले पहिलो एक हप्ताको लागि ५० हजार रुपैयाँ, एक हप्तादेखि बढी एक महिनासम्मको लागि एक लाख रुपैयाँ, १ महिनादेखि बढी ३ महिनासम्मको लागि ५ लाख रुपैयाँ, ३ महिनादेखि बढी जतिसुकै अवधिसम्मको लागि १० लाख रुपैयाँसम्म जरिवाना लिन सक्नेछ ।


क्लिकमान्डु