मीरगञ्ज पुल ११ महिनापछि सञ्चालनमा, उद्योगी व्यवसायी उत्साहित



विराटनगर । भारतको बथनाहाको परमाण नदीको पुल मंगलबारदेखि सञ्चालनमा आएको छ । ११ महिनापछि चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् । यो पुल कोलकाता बन्दरगाह र विराटनगर नाका जोड्ने मार्गमा पर्छ ।

गत पुसमा पुरानो पुल भत्किएपछि विराटनगर नाकाबाट प्रवेश गर्ने मालवाहक सवारीसाधनलाई सुनसरीको भान्टाबारीस्थित सेतुबन्ध नाकाबाट रि–रुट गरिँदै आएको थियो । यसले गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ व्ययभार बेहोर्दै आएका थिए ।

मोरङ व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले लामो समयदेखि पुरानो र जीर्ण अवस्थाको मीरगञ्ज पुलको सट्टा नयाँ पुल सञ्चालनका लागि गरिएको पहल सार्थक भएको बताए ।

नयाँ पुल सञ्चालनका लागि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको निरन्तर र नियमित फलोअप तथा प्रयासले सफलता मिलेको संघका कार्यककारी निर्देशक रेग्मीको भनाइ छ । त्यस्तै नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइराला र निवर्तमान सांसद मीनेन्द्र रिजालले पनि पुल सञ्चालनमा ल्याउन भारतीय अधिकारीहरूसँग कूटनीति माध्यमबाट पहल गरेको उनले बताए ।

भारतले नयाँ निर्माण गरेको पुल सञ्चालनमा आएको संघका कार्यकारी निर्देशकले रेग्मीले जानकारी दिए । सो पुल मंगलबार साँझ खुल्ला गरिए पनि बुधबारदेखि ढुवानीका सवारी साधनहरू पूर्णरुपमा आवातजावत हुने उनले बताए ।

यो पुल सञ्चालनमा आएसँगै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक सामग्री तथा उपाभोग्य वस्तु लिएर आएका सवारीसाधनको चाप व्यवस्थापनका लागि अब सहज हुने अपेक्षा राखिएको छ ।

विगत १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी व्यवसायीलाई हैरानी दिँदै आएको थियो । पुरानो र जीर्ण अवस्थामा रहेको पुल मर्मत गर्दा पनि समस्या समाधान नहुँदा बर्सेनी झन्झट बेहोर्नुपर्ने बाध्यता थियो ।

पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका जिल्लाका डिस्ट्रिक्ट मेजिस्ट्रेट, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिस्नर, नेसनल हाइवे अथोरिटी अफ इन्डिया, गृहमन्त्री, भारतीय दूताबासका अधिकारीलाई गुहार्दै आएका थिए ।

मंगलबार भारतको जोगबनी गएको मोरङ व्यापार संघको टोलीले भारतीय अधिकारीहरुसँग भेटवार्ता गरी भारतको बथनाहा–जोगबनी सडकखण्डअन्तर्गत प्रमाण खोलामा निर्मित नयाँ पुललाई संचालनमा ल्याउने गरी सहमति गराएको छ । सो क्रममा दुवै देशका प्रतिनिधिहरूबीच पुल सञ्चालन गर्ने सहमति भएको हो ।

संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुसहितको टोलीले भारतको जोगबनीको आईसीपी गई लेन्ड पोटर्स अथोरिटी अफ इण्डियाका प्रबन्धक रत्नाकर यादव, त्यहाँका एसडीएमएस. कुमार, नेशनल हाईवे अथोरिटी अफ इण्डियाका उमेश यादव र विजेपीका नेता दिलीप झालगायतलाई भेट गरी नवनिर्मित पुललाई तत्काल संचालनमा ल्याउन सहमत गराएको हो ।

पुलको निर्माण कार्य सम्पन्न भई सकेता पनि केही प्रकृयागत कार्यहरु बाँकी रहेकाले पुलको आधिकारिक उद्घाटन हुन नसकिरहेको अवस्थामा संघले तत्कालै उक्त पुलमार्फत सवारी साधनहरुको आवात–जावत खुलाई रि–रुटले प्रताडित नेपाली उद्योगी, व्यवसायी र अर्थतन्त्रलाई राहत पुग्ने भएको छ ।

बथनहास्थित परमाण नदीको पुल प्रयोग गर्न नपाउँदा नेपाली उद्योगी/व्यवसायीहरु भिमनगर–भन्टाबारीस्थित सेतुबन्ध नाका प्रयोग गरिरहेका थिए । सो नाका प्रयोग गर्दा उनीहरू दैनिक करीब एक करोड रूपैयाँको अतिरिक्त अनावश्यक व्ययभार खेप्न बाध्य भएका थिए ।

संघको पहलमा भारतीय अधिकारीहरुले आवागमनको क्रममा उक्त नवनिर्मित पुलमा कुनै सवारी साधनहरु पार्क गर्न नपाउने तथा पार्किङका सम्पूर्ण कार्यहरु पुल पूर्व वा आईसीपीमा मात्रै गर्नुपर्ने शर्तमा सो पुलमार्फतको आवागमन थाल्ने सहमति जनाएको संघका प्रवक्ता विनित सिंघानियाले बताए ।

टोलीलाई संघका अध्यक्ष नवीन रिजालकको नेतृत्वमा संघका प्रवक्ता विनित सिंघानियासहित कार्यसमिति. सदस्यहरु मनिष मारु, सुशील सुराना, गोपाल अग्रवाललगायतहरूको सहभागिता थियो ।

भारतकको बथनाहनजिकैको सो पुल अघिल्लो वर्ष पुस २२ गते भत्किएको थियो ।


क्लिकमान्डु