काठमाडौं । राजेश मेटर क्राफ्ट प्रालिले एकै वर्ष साढे ८ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।
कम्पनीले सन् २०२१ मा ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९३ मा स्थापना भएको कम्पनीले स्टिलजन्य वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । श्रवणकुमार अग्रवाल र उनका दुई जना छोरा राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको पूर्ण स्वामित्व रहेको कम्पनीले जस्तापाता, स्टिलजन्य पाइपलगायत अन्य वस्तु उत्पादन गर्दै आएको छ ।
कम्पनीले कच्चा पदार्थको रुपमा हट रोल्ड कोयल आयात गरी प्रशोधन गर्दै कोल्ड कोयल उत्पादन गर्दै आएको छ । कम्पनीले रोलिङ मिलबाट विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले भारतबाट कच्चा स्टिल भारतबाट आयात गर्ने गरेको जनाएको छ ।
वार्षिक २ लाख १२ हजार ७५० मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन क्षमता भएको कम्पनीले ५७ हजार मेट्रिक क्षमतामा पाइप, ५७ हजार मेट्रिक टन सिट्स, ५५ हजार मेट्रिक टन रंगिन सिट्स र १८ हजार मेट्रिक टन एचाआर र सीआर सिट्स उत्पादन गर्दै आएको छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ६२ प्रतिशत सिट्स सेग्मेन्ट भएको जनाएको छ । त्यसपछि २३ प्रतिशत आम्दानी पाइप सेग्मेन्टबाट भएको कम्पनीको भनाइ छ ।
त्यस्तै, कम्पनीको सन् २०२२ मा आम्दानी बढे पनि नाफा भने घटेको छ । सन् २०२१ मा २६.१ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा १३.९ प्रतिशत मात्रै नाफा कमाएको छ ।
प्रतिक्रिया