गोल्छाले मागे चालु पुँजी कर्जा सम्बन्धी नीतिमा विष्णु पौडेल र गगन थापाको धारणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक एक गतेदेखि लागू गरेको चालु पुँजी कर्जा सम्बन्धी नीतिमा नेपालको निजी क्षेत्रले फरक मत राखिरहेको छ ।

निजी क्षेत्रले यस विषयमा नेपाल राष्ट्र बैंकसँग मात्रै नभएर नेपालका प्रमुख पार्टीका नेताहरुको समेत धारणा लिएको छ ।

नेपाल आर्थिक पत्रकार समाजको २६ औं बार्षिकोत्सवमा अवसरमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेपाली कांग्रेका महामन्त्री गगन कुमार थापालाई चालु पुँजी कर्जा सम्बन्धी नीतिका विषयमा धारणा माग गरेका छन् । उक्त कार्यक्रममा अध्यक्ष गोल्छाले गरेको प्रश्नमा पौडेल र थापाले जवाफ दिएका थिए ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलले गोल्छामा प्रश्नमा राष्ट्र बैंकले चालु पुँजी निर्देशिका जारी गरेको र उक्त निर्देशिका जारी गर्दा सम्बन्धित समुदायको के प्रतिक्रिया हुन्छ त्यो राष्ट्र बैंकले बुज्यो कि बुझेन भन्दै प्रश्न गरे ।

‘यदि बुझेको थिएन भने त्यहाँ त्रुटी रह्यो । आउने दिनमा त्यो कुरा त्यस्तो त्रुटि रहनु हुँदैन’ उनले भने ‘सम्बन्धित समुदायसँग बसेर छलफल गर्ने बित्तिकै नियमनकारी निकायको समस्या समुदायले बुझ्छ, समुदायको समस्या नियमनकारी निकायले बुझ्छ । यो ढाँचामा जानुपर्छ । यो भन्दा अर्को कुनै तरिकाबाट हामी ठीक निष्कर्षमा पुग्न सक्दैनौं ।’

उनले अहिलेको अवस्थामा बैंकको ब्याजदर घट्नुपर्ने र रलता बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा गोल्छाको प्रश्नमा कांग्रेसका महामन्त्री थापाले उक्त विषयमा सबै निकायबीच छलफल गर्न आवश्यक रहेको बताए । चालु पुँजी कर्जा निर्देशिकालाई अहिले अलिकति पछाडि लिएर जाने हो भने त्यसबाट अहिले गर्न खोजेको जुन परिणामहरु हो, अपेक्षा गरेको कुराहरु हो, त्यसबाट पर्ने नकरात्मक कुराहरुलाई न्युनिकरण गर्न अरु के–के कुराहरु गर्न सकिन्छ भन्दै प्रश्न गरे ।

यो विषय टुंगोमा पुर्याउन बैंक, निजी क्षेत्रसँग बसेर छुट्टै छलफल गर्नु भन्दा पनि सबै एकै ठाँउमा बसेर छलफल गरेर समस्याको समाधान निकाल्नुपर्ने सुझाव दिए । यो क्षेत्र निजी क्षेत्रको मात्रै नभएर प्रधानमन्त्रीको समस्या हुनुपर्ने तर्क गरे ।


क्लिकमान्डु