२ अर्ब लगानीमा पोखरामा सेदी लक्जरी होटल निर्माण हुने, १० वटा कोठामा क्लबको व्यवस्था



काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं-१८ लेकसाइडमा २ अर्ब बढी लगानीमा सेदी लक्जरी होटल निर्माण हुने भएको छ । बाराही सेदी प्राइभेट लिमिटेडले २ अर्ब १० करोड ७१ लाख ६४ हजार रुपैयाँ लगानीमा स्टार होटेले निर्माण गर्ने भएको छ ।

कम्पनीले होटल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) तयार गरिसकेको छ । प्रतिवेदनअनुसार होटलमा २५० वटा बेडको १५० कोठा, अफिस, रुम्स, स्वीमिङ पुल, पार्किङ एरिया, रेष्टुरेन्ट र बार, बैंक्वेटको सुविधासहित निर्माण गर्ने तयारी गरेको छ ।

होटल २६ हजार ५९७ वर्गमिटर (५२.२८ रोपनी) क्षेत्रफलमा निर्माण हुनेछ । त्यसमा कुल भवन निर्मित क्षेत्र १२ हजार १३५ वर्गमिटर (२३.८५ रोपनी) र खुला क्षेत्र १४ हजार ४६२ वर्गमिटर (२८.४३) क्षेत्रफल हुनेछ ।

निर्माणका लागि तयारी रहेको होटलमा ५ वटा भवन हुनेछ । जसमा ब्लक ‘ए’ ३ हजार ८५० वर्गमिटर भवन निर्माण हुनेछ र १ हजार २४० वर्गमिटर प्लिन्थ एरिया हुनेछ । भवन ५ तल्लाको हुने कम्पनीको भनाइ छ ।

त्यसैगरी, ब्लक ‘बी’ ३४ सय वर्गमिटरमा निर्मित हुने र १ हजार ४५८ वर्गमिटर प्लिन्थ एरियामा ४ तल्लाको भवन निर्माण गर्ने भएको छ । ब्लक ‘सी’ २७ सय वर्गमिटरमा निर्माण हुने र १२ सय ७० वर्गमिटर प्लिन्थ एरियामा ३ तल्ला, ब्लक ‘डी’ १ हजार ९२५ वर्गामिटरमा निर्मित हुने र ८५० प्लिन्थ एरिया हुनेछ । भवन ४ तल्लाको हुनेछ । साथै, ब्लक ‘ई मा २६० वर्गमिटरमा निर्मित हुने र ५२० प्लिन्थ गरी २ तल्लाको हुनेछ ।

कम्पनीले कुल १५० कोठामध्ये १०२ वटा स्ट्यान्डर्ड डिलक्स कोठाहरु, २३ वटा क्वीन र किंग साइज बेडहरु भएका कोठाहरु, १० वटा कोठामा क्लब र १५ वटा सुइट कोठाहरुको व्यवस्था हुनेछ ।

होटलको भुई तल्लामा रिसेप्शन, फिटनेस सेन्टर हुनेछ । त्यसैगरी, पहिलो तल्लामा सम्मलेन हल, बैठक हल, सामान्य कोठा, दोस्रो तल्लामा स्ट्यान्डर्ड र डिलक्स कोठा, तेस्रो तल्ला स्ट्यान्डर्ड र डिलक्स कोठा र चौथो तल्लामा रेष्टुरेन्ट र बारको सुविधासहित निर्माण हुनेछ।

कम्पनीअनुसार रेष्टुरेन्ट तथा बारमा एक पटकमा २०० जना व्यक्तिको क्षमता र व्याङक्वेटमा एक पटकमा ५०० व्यक्ति अट्ने क्षमतामा निर्माण हुनेछ ।

त्यसैगरी, होटलमा २ हजार वर्गफिटमा पौडी पोखरी हुनेछ भने एकै पटक १२० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सक्ने क्षमता र १ सय वटा क्षमतामा चार पाङ्ग्रे सवारीका लागि पार्किङको व्यवस्था हुनेछ ।

कम्पनीले सामाजिक सहयोग कार्यक्रमले आयोजना प्रभावित क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधा अभिवृद्धि गर्न होटलबाट प्राप्त नाफाको १ प्रतिशत विनियोजन गर्ने जनाएको छ । साथै, होटलले अतिरिक्त आयोजनाले स्थानीय स्तरमा पार्ने सकारात्मक प्रभावहरु अभिवृद्धिका लागि ५ लाख रुपैयाँ छुट्टाइएको जनाएको छ ।

त्यस्तै, कम्पनीले आयोजनाका लागि वातावरणीय खर्च भनेर ३० लाख ५० हजार रुपैयाँ छुट्टाइएको छ । कम्पनीअनुसार होटल ३ वर्षमा सम्पन्न गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु