देश बनाउन र बिगार्न नीति र नेतृत्वको भूमिका निर्णायक: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ बन्ने सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै पक्षसँग छलफल गरेर अघि बढ्नु पर्ने बताए । देश बनाउन र बिगार्न नीति र नेतृत्वको भूमिका निर्णायक हुने उनले बताए ।

पाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा थापाले अब बन्ने सरकारले निजी क्षेत्रसँगको सम्बन्ध बढाउनु पर्ने उनले बताए ।

सरकार र निजी क्षेत्र सँगै बसेर छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अब बन्ने सरकारले निजीक्षेत्र, अर्थमन्त्री, गभर्नर बसेर अबको बाटो के हुने भन्ने छलफल गर्न आवश्यक छ’ उनले भने ।

आफूले निर्वाचनअघि अर्थतन्त्रको बारेमा आफ्नो दल र सत्ता गठबन्धनका नेतासँग छलफल गर्दा कसैले चासो नदिएको बताए । अर्थतन्त्रको लागि काम गर्न सरकारले नियुक्त गरेर पठाएका प्रतिनिधिले हेर्छन् भन्ने सोच दलहरुमा रहेको उनको भनाइ छ ।

योजना बनाएर अघि नबढ्ने हो भने र आन्तरिक उत्पादन नबढाउने हो भने समस्या हुने उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउने, रोजगारी बढाउने बिषयमा सबै निकाय बसेर अध्ययन गर्नु पर्ने बताउँदै उनले रोजगारी लगायतका समस्या समाधान गर्न अब बन्ने सरकारका प्रधानमन्त्रीको चासो हुनुपर्ने बताए ।

कार्यक्रममा थापाले समाजवादले सबैलाई झुक्याएको भन्दै संविधानमा भए पनि यसलाई यहि छोडेर अघि बढ्न आवश्यक रहेको धारणा राखे । अबको दिनमा सरकारको भूमिका शिक्षा, स्वास्थ्यमा बढन आवश्यक रहेको बताए ।

उनले यसअघि उद्योग बेचियो भन्नेकुराको चर्चा हुने गरेको भन्दै अब यस्ता विषयमा चर्चा गर्नुभन्दा नयाँ उद्योग खोल्नतर्फ लाग्नु पर्नेब ताए ।

थापाले आगामी दिनमा वितरण मुखि नीतिभन्दा पनि कति रोजगारी दिन सकिन्छ भन्ने बारे सोच्ने बेला भएको बताए । वितरणमा ध्यान दिँदा कुनै दिन ५० वर्षमा नै वृद्ध भत्ता दिने दिन आउने हो कि भन्ने चिन्ता रहेको बताए ।


क्लिकमान्डु