अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट



एजेन्सी । पछिल्ला केही दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (पेट्रोल तथा डिजेल) को मूल्यमा भारी गिरावट आएको छ ।

नेपालले पेट्रोलियम पदार्थको आयात गर्ने छिमेकी मुलक भारतमा बुधबार कच्चा तेलको मूल्य ८१ अमेरिकी डलर प्रति बेरलभन्दा कम भएको छ । यो मूल्य गत जनवरी यताकै सबैभन्दा सस्तो हो । अमेरिकी कच्चा पेट्रोलियम पदार्थको मूल्य पनि बुधबार ७४ अमेरिकी डलर प्रति बेरलको नजिक पुगेको छ ।

भारतमा कच्चा पेट्रोलियम पदार्थको आयात गरेर प्रशोधन गरि बेच्ने कम्पनीहरुलाई हाल प्रति बेरलमा २४५ भारुको बचत भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा पेट्रोलियम पदार्थको मूल्यका कारण त्यहाँ पेट्रोल तथा डिजेलको मूल्यमा १४ भारुसम्म कमी आउन सक्ने देखिएको छ ।

पछिल्ला ८ महिनाहरुमा कच्चा पेट्रोलियम पदार्थको मूल्य २७ प्रतिशतसम्म कम भएको छ ।

कच्चा तेलको मूल्यमा कमि आउनुको कारण भने चीनमा भइरहेको सत्ता बिरोधी प्रदर्शन, प्रतिबन्धपछि पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा रुसको प्रवेश र व्याजदर बढेपछि वैश्विक अर्थव्यवस्थामा भइरहेको सुस्ततालाई देखाइएको छ ।

भारतमा गत मार्चमा प्रति बेरल कच्चा तेलको मूल्य औसतमा ११२.८ अमेरिकी डलर थियो । त्यसयताको आठ महिनामा कच्चा तेलको मूल्यमा ३१ अमेरिकी डलर (२७ प्रतिशत) कमि देखिएको छ ।


क्लिकमान्डु