गोयन्का ग्रुपको अरुण एग्रो उद्योगले एकै वर्ष गर्‍यो सवा १ अर्बको व्यापार



काठमाडौं । गोयन्का ग्रुपद्वारा सञ्चालित अरुण एग्रो उद्योग प्रालिले एकै वर्ष सवा १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २९ करोड ४० लाख (अरिष्कृत) रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ९७ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ९२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार तथ्याङ्क हेर्दा हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

कम्पनीले सन् २००० देखि निरन्तर नेपाली बजारमा आँटा, चक्की आँटा, चोकर, मैदा, सुजी र दालको प्रशोधन तथा बिक्री गर्दै आएको छ । नन्दलाल गोयन्काको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २७ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड ३३ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ९९ करोड ६७ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीअनुसार सन् २०२१ मा ६ प्रतिशत प्रतिशतले उत्पादन बढेकोमा सन् २०२२ मा ३१ प्रतिशतले बढेको जनाएको छ । त्यस्तै, कम्पनीको उपयोग क्षमता पछिल्लो तीन वर्षमा निरन्तर ५८ प्रतिशतले बढेको जनाएको छ ।

वार्षिक ८३ हजार २५ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले ‘शाहनाई’ र ‘हेल्दी फुड’ ब्रान्डमा विभिन्न प्रकारका खाद्यान्न वस्तु बिक्री गर्दै आएको छ ।

कम्पनीले हालै मात्रै दालजन्य वस्तुको उत्पादन सुरु गरेको छ । उक्त दालजन्य वस्तुको व्यापारले कम्पनीको आम्दानी झनै बढ्ने अनुमान गरेको छ ।

सन् २०२२ मा मैदा र ब्रान् सेग्मेन्टको व्यापार बढेकाले उच्च आम्दानी भएको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनीले ८.९४ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीले विशेषगरी भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । त्यसमा आम्दानी गरेकोमध्ये ८५ प्रतिशतदेखि ९२ प्रतिशत कच्चा पदार्थबाट भएको जनाएको छ ।


क्लिकमान्डु