राष्ट्र बैंकले भन्यो- बैंकका सञ्चालकको निजी स्वार्थ पूरा हुने गरी कर्जा प्रवाह भएको छ



काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको संरचना माथी प्रश्न उठाएको छ ।

मंगलबार बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको अन्तक्रिया राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागको तर्फबाट गरिएको प्रस्तुतिमा बैंकका सञ्चालहरु कार्यकारी भूमिकामा रहे जस्तो देखिएको उल्लेख गरिएको थियो ।

‘सञ्चालकको निजी स्वार्थ पूरा गर्ने गरि कर्जा प्रवाह हुने गरेको छ,’ प्रस्तुतीमा भनियो, ‘यस्तो गतिविधीले संस्थागत सुशासन कमजोर भएको छ । बैंकहरुमा संस्थागत सुशासन कायम गर्न सीईओको भुमिका निकै महत्वपूर्ण छ ।’

मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले वाणिज्य बैंकका सीईओसँग बैंकिङ्ग क्षेत्रका समसामयिक विषयमा छलफल गरेका थिए ।

कार्यक्रमको सुरुमा बैंक सुपरिवेक्षण विभागले बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाको विषयमा ४५ मिनेट लामो प्रस्तुती दिएको थियो ।

त्यसपछी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले १५ मिनेट संबोधन गरेका थिए । भट्टले देशको पछिल्लो आर्थिक सुधार हुने क्रममा रहेपनि सबै निकाय सचेत हुनु पर्ने अवस्था रहेको बताए ।

‘कोरोना महामारीका क्रममा भएको ऋण लगानीले अर्थतन्त्र चलायमान बनाएको थियो । तर, जुन आकारमा कर्जा विस्तार भयो त्यसको प्रभाव आर्थिक वृद्धिमा देखिएन्’ भट्टले भने, ‘कर्जा दुरुपयोग रोक्न नसक्दा आज समस्या आएका हुन । अहिले व्यवस्थापन गर्न सकिने समस्या छन् । त्यसैले आगामि दिनमा सचेत भएर निर्णय लिनु पर्छ ।’

भट्टको सम्बोधनपछि बैंकिङ क्षेत्रका समसामयिक विषयमा बैंकका सीइओले आफ्नो धारणा राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले सहि समयमा सहि निर्णय गर्न नसक्दा अर्थतन्त्र समस्यामा परेको आरोप लगाउँदा राष्ट्र बैंकका गभर्नर अधिकारी केन्द्रीय बैंकको नीतिले अर्थतन्त्र सुधारको बाटोमा गइरहेको बताइरहेका थिए ।

महासंघले कोरोना महामारीको क्रममा अन्धाधुन्द कर्जा लगानी गर्दा अर्थतन्त्र समस्यमा परेको आरोप लगाउँदा राष्ट्र बैंकका गभर्नर अधिकारीले वाणिज्य बैंकका सीईओलाई कोरोना महामारीको क्रममा कर्जा लगानी गरेको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै धन्यावाद दिए ।

सीइओसँगको अन्तरक्रियामा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको नीतिले अहिले आर्थिक गतिविधी सुस्त बनाएपनि आगामी दिनमा अर्थतन्त्र ठिक ठाउँमा पुग्ने दाबी गरे ।

‘हामीले विदेशी मुद्राको सञ्चिति जोगाउने र वित्तीय क्षेत्रमा स्थाइत्व कायम गर्ने गरी नीति लिएका छौं,’ अधिकारीले भने,‘तपाईंहरुले पनि वित्तीय क्षेत्रको स्थाइत्वमा सम्झौता नगर्ने गरी काम गर्नु पर्छ । आजका दिनमा केही कठिन अवस्था भएपनि भोली राम्रो हुन्छ भन्ने हाम्रो बुझाई हो । भोलीको राम्रोका लागि आज केही कष्ट सहनु पर्छ ।’


क्लिकमान्डु