आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्दै सुपर मादी हाइड्रो



काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका युवाका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३१ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका- १ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ । यस्तै आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका– ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका– २६, २७ र २८ का स्थानीयका लागि ७ लाख ३५ हजार कित्ता निष्कासन गर्ने भएको छ ।

यस्तै कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । विदेशमा रहेका नेपालीले मंसिर २० गतेदेखि पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यता आयोजना प्रभावित स्थानीयले भने मंसिर २० देखि पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नछन् ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आयोजना प्रभावितले आईपीओमा आवेदन एनसीसी बैंकको न्यूरोड शाखा पोखरा, कुमारी बैंकको पोखरामा रहेको कहुनखोला शाखा, माछापुच्छ्रे बैंकको मादी गाँउपालिका र लेखनाथ शाखा र सानिमा बैंकको पोखरा न्यूरोड शाखाबाट आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु