विजय शाह फेरि बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो ।

विभागअनुसार व्यक्तिगत तर्फबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति विजयकुमार शाह बनेका छन् । शाहले व्यक्तिगत आयमा सार्वधिक कर तिरेकाले विभागले सम्मान गरेको ।

उनी गत वर्ष पनि सवैभन्दा बढी व्यक्तिगत कर तिरेपछि सम्मानित भएका थिए । उनले आर्थिक वर्ष ०७५/७६ मा १५ करोड २७ लाख रुपैयाँ आयकरवापत बुझाएर ६ वर्षदेखि लगातार सर्वाधिक आयकर तिरेर सम्मानित हुँदै आएका सिद्धार्थ राणालाई उछिनेका थिए ।

त्यसैगरी, सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । निर्यात कारोबारबाट भने श्री शक्ति घ्यू उद्योग प्रालि बनेको छ ।

विशेष उद्योगमध्ये राजेश मेटल क्राफ्टस प्रालिले सार्वधिक कर तिरेको छ । त्यस्तै, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये ओसिबी फुड्स एण्ड फिड्स प्रालि र सहकारी तथा लघु वित्तको कारोबार गर्ने संस्थामध्ये छिमेक लघुवित्त वित्तीय संस्था सार्वधिक कर तिर्ने संस्थामा परेका छन् ।

बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये नविल बैंकले सार्वाधिक कर तिरेको विभागले जनाएको छ । त्यस्तै, बीमा व्यवसायमध्ये नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्ये मनकामदा दर्शन, वस्तु व्यापारको कारोबारमध्ये हंसराज हुलाचन्द एन्ड कम्पनी र मध्यस्तरीउ करदातामध्ये नेपाल धितोपत्र विनिमय बजार रहेका छन् ।

उर्जामूलक उद्योगमध्ये चिलिमे जलविद्युत कम्पनी र रेमिट्यान्स तथा मनी ट्रान्सफरमध्ये आईएमई लिमिटेडले सार्वधिक कर तिरेका छन् ।

यस्तै, गत वर्ष सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्नेमा सूर्य नेपाल रहेको छ । साथै, २०६७ साउनदेखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिलाख गर्नेमा गोर्खा ब्रुअरी प्रालि रहेको छ ।


क्लिकमान्डु