डेढ अर्ब लगानीमा पोखरामा ११२ युनिटको अपार्टमेन्ट बन्दै, यस्ता छन् सुविधा



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटरको दुरीमा साढे १ अर्ब लगानीमा ‘बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’ बन्ने भएको छ ।

सन् २०१८ मा दर्ता भएको बीएनबी कम्पनीले पोखरामा १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ लगानीमा अपार्टमेन्ट बनाउने भएको हो ।

कम्पनीले १ लाख ६५ हजार ५२८ वर्गफिट (३२ रोपनी) क्षेत्रफल जग्गामा अपार्टमेन्ट निर्माण गरिरहेको छ । कम्पनीअनुसार अपार्टमेन्ट ११२ वटा कोठाको क्षमतामा निर्माण हुनेछ ।

कम्पनीले अपार्टमेन्ट निर्माणमा खर्च हुनेमध्ये ६० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । जसमा कम्पनीले बी प्लसको रेटिङ पाएको छ ।

कम्पनीले ६० करोड रुपैयाँ कर्जा लिई लगानी गर्नेछ । त्यस्तै ४३ करोड रुपैयाँ इक्विटीबाट र ५० करोड ८० लाख रुपैयाँ ग्राहकले बुकिङ गरेबापत भुक्तानी गरेको रकमबाट खर्च गर्ने भएको छ । जसमा कम्पनीले ३९:२८:३३ को अनुपात राखेको छ ।

कम्पनीले ३३ प्रतिशत निर्माण खर्च ग्राहकले दिएको रकमबाट गर्ने भएको छ ।

सन् २०२२ को जुलाई १६ सम्म कम्पनीका प्रवद्र्धकहरुले पहिले नै परियोजनाको आवश्यक इक्विटी पूरा गरिसकेका छन् । अहिले आयोजना कार्यन्वयनको प्रारम्भिक चरणमा रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, सन् २०२२ को अक्टोबरसम्ममा अपार्टमेन्टको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीले सन् २०२४ को जुलाईसम्ममा व्यवसायिक सञ्चालन गर्ने अनुमान गरेको छ ।

सरकारले चालु आर्थिक विद्येयकमार्फत् पूँजीगत लाभकर बढाएको छ । जसमा सरकारले घरजग्गाको स्वामित्व पाँच वर्ष वा ५ वर्षभन्दा बढी भएको छ भने ५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, गैरव्यावसायिक करयोग्य सम्पत्ति घरजग्गाको स्वामित्व ५ वर्षभन्दा कम रहेको छ भने ७.५ प्रतिशतको दरले कर लाग्नेछ ।

अब, ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्नेछ । विगतमा ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेको थियो ।

आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ क संशोधन गर्दै घरजग्गाको नाफामा पूँजीगत लाभ कर बढाइएको हो । चालु आर्थिक वर्षको विद्येयकमार्फत् लाभकर पूँजी बढाएकाले पनि रियल स्टेट क्षेत्रको कारोबार घटेको कम्पनीको भनाइ छ ।

कम्पनीको अध्यक्ष होमबहादुर बसेल हुन् । २० वर्ष रियल स्टेट क्षेत्रको अनुभव छ । बसेल बीएनबी हाउजिङ कम्पनीको निर्देशक र बीनबी इन्जिनियररिङ ग्रुप र गण्डकी मेडिकल कलेजको संस्थापक हुन् ।

कम्पनीले अपार्टमेन्टमा बसोबासको सुविधासँगै विभिन्न सुविधा समेत उपलब्ध गराउने योजना अनुसार निर्माण गर्ने भएको छ । जसमा अपार्टमेन्टमा वल्र्ड क्यासिनो रेष्टुरेन्ट, क्याफे, बार र सुपरमार्केटको समेत सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले स्टुडियो अपार्टमेन्ट निर्माण गर्ने भएको छ । साथै, ट्राभल सर्भिस, सैलुन, ब्यूटी पार्टल, स्वीमिङ पुल, सामुदायिक हल, लेक भ्यू योगा, स्पा तथा कम्युनिटी हल तथा पर्याप्त मात्रामा पार्किङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु