२१ सय युनिटसहित बल्खुमा ‘आदर ट्रेड मल’ आउँदै, २५ प्रतिशत बुकिङ



काठमाडौं । बल्खुमा २१ सय युनिट पसलको सुविधासहित ‘आदर ट्रेड मल’ आउने भएको छ । सन् २०१७ देखि निर्माण कार्य सुरु गरेको आधार मल्टी-इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले २१ सय युनिट पसलसहित कमर्सियल कम्प्लेक्स ‘आदर ट्रेड मल’ आउने भएको हो ।

महाबौद्ध क्षेत्रमा होलसेल व्यापार गर्दै आएको र आयात क्रियाकलापमा संलग्न ५२२ व्यक्तिगत प्रवद्र्धक संलग्न रहेको ट्रेड मलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार ४ लाख स्क्वायर फिटमा २१ सय पसल निर्माण हुनेछ । कम्पनीले होलसेल व्यवसाय गर्नेलाई लक्षित गरेर निर्माण गरेको जनाएको छ ।

सन् २०२२ को सेप्टेम्बरसम्ममा कम्पनीले ७० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । जसमा कम्पनीले भवन निर्माणको कार्य सम्पन्न गर्ने चरणमा रहेको उल्लेख गरेको छ । तर, फिनिसिङको कार्य भने हुन नसकेको कम्पनीको भनाइ छ ।

सन् २०२२ सम्ममा करिब २५ प्रतिशत पसल बुक भइसकेको कम्पनीले जनाएको छ । बजारमा तरलता अभाव र नेपाल राष्ट्र बैंकले रियल स्टेट क्षेत्रमा जाने कर्जामा कडाइले मूल्यसँगै बुकिङ हुन बाँकी रहेको युनिटको मागमा निकै असर पुगेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु