तालिम, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्न नपाउँदा प्रगति कम भयोः कृषि मन्त्रालय



काठमाडौं । निर्वाचन आचारसंहिताका कारण तालिम, गोष्ठीलगायतका क्रियाकलापन सञ्चालन गर्न नपाउँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रगति कम भएको जनाएको छ । मन्त्रालयले प्रथम त्रैमासिकको प्रगति विवरण सार्वजनिक गर्दै निर्वाचन आचारसंहिताका कारण तालिम, गोष्ठीलगायतका क्रियाकलापन सञ्चालन नगर्न भनी प्रशासनबाट निर्देशन भएकाले प्रगति कम भएको जनाएको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२ अर्ब ६६ करोड २० लाख ९१ हजार खर्च गर्ने गरी बजेट विनियोजन गरेको थियो । त्यसमध्ये मन्त्रालयले १३ अर्ब २० करोड ५२ लाख २७ हजार रुपैयाँमात्रै खर्च गरेको छ ।

उक्त खर्च विवरण हुन नसक्नुमा कृषि मन्त्रालयले प्रगति कम हुनुका मुख्य ६ वटा कारणलाई औंल्याएको छ । मन्त्रालयअनुसार स्वीकृत वार्षिक कार्यक्रममा क्रियाकलाप र बजेटको त्रैमासिक विभाजनमा फरक पर्दा भुक्तानी÷निकासकामा समस्या भएकाले प्रगति कम भएको जनाएको छ ।

त्यसैगरी, दरबन्दीअनुसार कर्मचारीहरुको पदपूर्ति नहुँदा खर्च हुन नसकेको, पुरक अनुदान कार्यक्रमअन्तर्गत समूह÷सहकारीहरुबाट समयमा भुक्तानीको लागि कागजातहरु पेश नभएकाले र कार्यक्रम सम्पन्न भइसकेको तर भुक्तानी हुन बाँकी रहेकोले कम प्रगति भएको उल्लेख गरेको छ ।

त्यसैगरी, तेस्रो आह्वानअन्तर्गत निजी फर्म तथा कम्पनीहरुको उप-आयोजनाहरु (३७९ संख्यामा) सँग सम्झौता भई कार्यक्रम सञ्चालन भई रहेको तर सम्मानित सर्वोच्च अदालतको अन्तरिक आदेशको कारण भुक्तानी कार्य स्थगित भएकाले कम प्रगति भएको जनाएको छ ।

मन्त्रालयले पहिलो त्रैमासिकसम्ममा चाडपर्व लक्षित अनुगमनको क्रममा करिब ८ लाख ५० हजार बराबरको गुणस्तरहीन र अन्य म्याद गुज्रेका विभिन्न किसिमका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको र ५ किराना पसल, ५ मिठाई पसल, ५ उद्योग र खाद्य गोदामलाई शिलबन्दी÷रोक्का गरी कारबाही गरेको छ ।


क्लिकमान्डु