मलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती छैनः पम्फा भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको दाबी गरेकी छन् ।

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको दाबी गरेकी हुन् ।

आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका कामहरु हेरेर जनताले मत दिने उनको विश्वास छ ।

जनताले कुनै पनि काम नगरेकाहरुलाई मत नदिने उनको भनाइ छ । राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरुलाई जनताले मत नदिने उनको भनाइ छ ।

‘मेरो दुई कार्यकाल हेरेर उहाँहरुले दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्नसक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरुको कुनै सकारात्मक भुमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन’ उनले भनिन् ।

उनले देशमा दलीय राजनीति बलियो भएको बताइन् । सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेको भन्दै उनले जनताले पार्टी हेरेर भोट दिने बताइन् ।

‘कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन्’ भुसालको भनाइ छ ।


क्लिकमान्डु