पहाडकी रानी ‘बन्दीपुर’ (फोटो फिचर)



बन्दीपुर । बन्दीपुर अर्थात् पहाडकी रानी । तनहुँमा रहेको बन्दीपुरको इतिहास आफैंमा एउटा व्यापारिक पक्ष बोकेको इतिहास हो । वर्तमानमा बन्दीपुर आन्तरिक र बाह्य पर्यटकका लागि उचित गन्तव्यका रुपमा स्थापित भइसकेको छ ।

मंसिर सुरुवात हुनै लाग्दाको घाम न्यानो लाग्ने समयमा पनि बन्दीपुरमा पर्यटकको उपस्थिति उस्तै छ । कुनै बेला मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारिक नाकाको रुपमा रहेको बन्दीपुरमा अहिले पनि पुरानै संरचनामा रहेका घरहरु छन् ।

रातको समयमा बन्दीपुर झलमल्ल देखिन्छ । मुख्य बजारमा सवारीसाधानको आवातजावतमा रोक लगाइएका कारण पनि धुँवा, धुलो र होहल्ला हुँदैन ।

बाह्य र आन्तरिक दुवै किसिमका पर्यटकहरु बन्दीपुरमा साँझदेखि मध्यरातको समयसम्म पनि देखिन्छन् ।

बिहानै बन्दीपुर बजारबाट केही मिनेटको हाइकिङ गर्दा थानिमाई डाँडामा पुगिन्छ, जहाँबाट सूर्योदयको सौन्दर्यले जो सुकैलाई पनि चकित तुल्याउँछ । बिहानै पहाडपछाडिबाट विस्तारै चिहाउँदै चिहाउँदै उदय हुने सूर्य मायालु देखिन्छ ।

सामुदायिक रुपमा संरक्षित र प्रवर्द्धन गरिएको बन्दीपुरमा बन्दीपुर बजारको सौन्दर्य, बजारबाट केही मिनेटको हाइकिङबाट देखिने हिमाली दृश्य र फराकिला फाँटहरु छन् ।

कात्तिक अन्तिमबाट भने बन्दीपुरमा बाह्य बाहेक मुख्यगरि विभिन्न विद्यालय र कलेजहरुले लैजाने शैक्षिक भ्रमणका क्रममा पुग्ने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ । त्यसबाहेक अन्य आन्तरिक पर्यटकहरुपनि यहाँ उत्तिकै उपस्थित छन् ।

तस्बिरहरु


क्लिकमान्डु