सेबोनले जारी गर्यो संगठित संस्था मर्ज तथा प्राप्ति सम्बन्धी निर्देशिका, के छन् नयाँ व्यवस्था ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९– जारी गरेको छ ।

संगठित संस्थाले गाभ्ने-गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने छ । अन्यथा संस्थाको संचालक जबाफदेही हुनेछ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिका जारी गरेको छ । यो निर्देशिका आजैदेखि लागू हुनेछ ।

बोर्डका अनुसार बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्थाको संचालक समितिले गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सोको भोलीपल्ट कारोवार समय अगाडि गाभ्ने-गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत शेयरधनीको कारोवार दफा ७ बमोजिमको साधारणसभा सम्पन्न नभएसम्म रोक्का राख्न आधारभूत सेयरधनीको विवरण सहित संगठित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ ।

प्राप्त निवेदन बमोजिम धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थाले सो संस्थाको आधारभूत सेयरधनीको कारोवार तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्नेछ ।

बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्था वा सो संस्थाको सेयर रजिष्ट्रारले उपदफा (१) बमोजिमको आधारभूत सेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोवार समय अगावै धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई उपलब्ध गराउनुपर्नेछ । यसरी प्राप्त विवरण बमोजिम धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले कारोवार रोक्का गरिने आधारभूत सेयरधनीको विवरण आफ्नो कारोवार प्रणालीमा अद्यावधिक गरी सोही बमोजिम आधारभूत शेयरधनीको कारोवार रोक्का राख्ने व्यवस्था गर्नुपर्नेछ ।

गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइने छैन ।

बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्थाले प्रारम्भिक समझदारी गरेपछि उक्त संगठित संस्थाको दफा ७ बमोजिमको साधारण सभाबाट गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धी प्रस्तावमा निर्णय नभएसम्म गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रिया रद्द गर्न सक्ने छैन ।

बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्थाले अर्को संगठित संस्थासँग गाभ्न-गाभिन वा प्राप्ति सम्बन्धमा पूर्व स्वीकृतिका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को व्यवस्था बमोजिम अनुसूची–१ मा उल्लेखित ढाँचामा बोर्ड समक्ष संयुक्त रुपमा निवेदन दिनु पर्नेछ ।

गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धमा साधारण सभाले गरेको निर्णय, संगठित संस्थाहरुले गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धमा गरेको प्रारम्भिक समझदारी, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतको वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन पेश गर्नुपर्ने छ ।

गाभ्ने-गाभिने वा प्राप्ति कार्य सम्पन्न गर्ने समयबद्ध कार्यतालिका, नियमनकारी निकायको पूर्व सहमति वा पूर्व स्वीकृति लिनुपर्ने भएमा त्यस्तो पूर्व सहमति वा पूर्व स्वीकृतिपत्र आवश्यक पर्ने छ ।

बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्था गाभ्ने-गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा दफा ४ बमोजिम प्राप्त भएको निवेदन उपर बोर्डले आवश्यक जाँचबुझ गर्नेछ र त्यस्तो जाँचबुझको सिलसिलामा बोर्डले आवश्यकता अनुसार थप कागजात समेत माग गर्न सक्नेछ ।

यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ।

आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ।

निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।


क्लिकमान्डु