ब्याजदरका विषयमा छलफल गर्न महासंघले बोलायो पदाधिकारीको आकस्मिक बैठक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदरका विषयमा छलफल गर्न आकस्मिक छलफल बोलाएको छ । बुधबार ४ बजेका लागि महासंघले पदाधिकारी बोलाइएको एसोशिएट उपाध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।

‘ब्याजदर लगायत समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

महासंघ अध्यक्ष शेखर गोल्छा आजैमा विदेशबाट नेपाल फर्किएका छन् ।

जिल्ला जिल्लाबाट चालु पुँजी कर्जा र बैंकको चर्को ब्याजदरका विषयमा सडक आन्दोलन शुरु भएपछि महासंघ नेतृत्वले दबाब महशुस गरी आफ्नो उपस्थिति देखाउन बैठक बोलाएको हो ।

राष्ट्र बैंकको नीतिले आफूहरु समस्यामा परेको निष्कर्ष निकाल्दै व्यवसायीहरु राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने केही समययतादेखि व्यवसायीहरुलाई पेल्दै अघि बढेको भन्दै व्यवसायीहरु रिसले चुर भएका हुन् ।
गभर्नर अधिकारीले अहिलेको सरकारलाई राजनीतिक दर्शनका आधारमा असहयोग गर्दा अर्थतन्त्र संकटमा परेको व्यवसायीहरुको बुझाइ छ ।

महासंघका उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई, दिनेश श्रेष्ठलगायत नै सडक आन्दोलनमा उत्रिएका थिए । उनीहरुकै दबाबमा बुधबार ४ बजे पदाधिकारीको आकस्मिक बैठक बोलाइएको हो ।

व्यवसायीहरुले कोरोनाकालमा बैंकिंग प्रणालीबाट पाएको सुविधा अहिले पनि पाउनुपर्ने लगायतका माग पनि गरेका छन् ।

ब्याजदर निर्धारण माग र आपूर्तिले निर्धारण गर्ने बैंकरहरु बताउँछन् । लगानी योग्य पुँजी फालाफाल हुँदा बैंकहरुले ५ ६ प्रतिशत ब्याजदरमै ऋण दिएको र अहिले बैंकमा निक्षेप नआएकाले स्रोत कम हुन गई ब्याजदर बढेको बैंकरहरुको तर्क छ ।


क्लिकमान्डु