तोकिएको मितिमा हिमालयन र सिभिलले एकीकृत कारोबार गर्न सकेनन्, ३ महिना समय माग्दै राष्ट्र बैंकमा पत्र



काठमाडौं । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार गर्ने समय आज (मंगलबार) सकिएको छ । एकीकृत करोबार गर्ने समय सकिएसँगै समय थप्न दुबै बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएका छन् ।

दुबै बैंकको सञ्चालक समिति र मर्जर कमिटिले निर्णय गरेर थप तीन महिनाका लागि समय थप्न माग गर्दै पत्र पठाइएको हिमालयन बैंकका सीइओ अशोक राणाले जानकारी दिए ।

तोकिएको समयमा मर्जर गरेर एकीकृत कारोबार गर्न नसकेपछि सोमबार दुबै बैंकले थप तीन महिनाका लागि समय थप्न माग गर्दै नेपाल राष्ट्र बैंकको पत्र पठाएका हुन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण समयमै राष्ट्र बैंकमा पठाउन नसकेको र उक्त विवरण राष्ट्र बैंकबाट स्वीकृत भइनसकेका कारण मर्जरको प्रकृया लम्बिएको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि दुबै बैंकले साधारणसभा बोलाउनु पर्छ ।

दुबै बैंकले साधारणसभा बोलाएर सभाले उक्त प्रस्ताव पारित गरेपछि मात्रै मर्जरपछि एकीकृत कारोबार गर्न सक्छन् । अहिलेसम्म दुबै बैंकको एकीकृत वित्तीय विवरण स्वीकृत नभएका कारण बैंकहरुले साधारणसभा बोलाउन सकेका छैनन् ।

‘यो बेला धेरै विदा पनि भयो, हामीले काम गर्दागर्दै समयमा काम सकेनौ,’ सिभिल बैंकका सीइओ सुनिल पोखरेलले भने, ‘पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने गरी काम भइरहेको छ ।’

हिमालयन र सिभिल बैंक मर्जरका लागि असार २८ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपछि सञ्चालक समिति हिमालयन बैंकको रहने र सीइओमा हिमालयन बैंकका सीइओ अशोक राणा नै हुनेछन् । हिमालयनले सिभिललाई १००:८१ अनुपातमा गाभ्न लागेको हो ।

चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइने व्यवस्था गरेको छ ।

पुस मसान्तभित्र मर्जर भएर एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।

वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनुपर्ने छैन ।

२०७९ पुस मसान्तभित्र गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त–पुनः नियुक्त हुन बाधा पर्ने छैन ।

वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा राष्ट्र बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम्संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिनेछ ।

वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा यस बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ ।


सोभित थपलिया