आईपीओ ल्याउने तयारीमा रिपब्लिक मिडिया, आम्दानी २० करोड



काठमाडौं । सेयर निष्काशन गर्ने तयारीमा रहेको न्यू रिपब्लिक मिडियाले रेटिङ गराएको छ ।

नागरिक र रिपब्लिका पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सोही सेयर निष्काशन गर्न कम्पनीले रेटिङ गराएको छ । कुनै पनि कम्पनीले आईपीओ जारी गर्नु अगावै कम्पनीको वित्तीय विवरण अर्थात् रेटिङ अनिवार्य गर्नुपर्छ । सोहीअनुरुप रिपब्लिक मिडियाले रेटिङ गराएको कम्पनीले जनाएको छ ।

कम्पनीले रेटिङमार्फत् ३ वर्षको आम्दानीको विवरण सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२० मा २९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सन् २०२१ मा १७ करोड २० लाख रुपैयाँको व्यापार गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, सन् २०२२ मा सन् २०२१ को तुलनामा आम्दानीमा सुधार आई २० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

विनोदराज ज्ञवालीको स्वामित्व रहेको मिडियाको सन् २०२२ को जुलाइसम्ममा ५५ वटै जिल्लामा नेपाली र अङ्ग्रेजी भाषामा पत्रपत्रिका उपस्थिति रहेको छ । सन् २०२० को जुलाईसम्ममा मिडियाको ७५ वटै जिल्लामा उपस्थिति थियो । अहिले उक्त कम्पनीको उपस्थिति घटेको देखिन्छ ।

त्यसैगरी, कम्पनीको नाफा भने बढेको तथ्याङ्कमा उल्लेख छ । कम्पनीले सन् २०२१ मा ६.८५ प्रतिशतले नाफा कमाएको थियो भने सन् २०२२ मा बढेर १२.५९ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीकाअनुसार रुस र युक्रेनबीचको द्वन्द्वको अहिले पनि प्रभाव भएकाले कागज आयातमा निकै समस्या आइरहेको छ । विश्वमा सबैभन्दा बढी पेपर निर्यात गर्ने देश रुस हो । त्यसैले, पेपर आपूर्तिमा प्रभाव परेको कम्पनीको भनाइ छ ।

सन् २०१९ को तुलनामा कम्पनीको सन् २०२० मा आम्दानी ४३ प्रतिशतले घटेको थियो । जुन सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा थप ४० प्रतिशतले घटेको छ । आम्दानीमा कमी आउनुको कारण भने कोरोना महामारी र महामारीका कारण कम्पनीको प्रमुख आम्दानीको स्रोत विज्ञापनमा आएको कमीलाई जनाइएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बी प्लस रेटिङ दिएको छ ।

सेयर निष्काशनको तयारी गरेको कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि सर्वसाधारणमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता आईपीओ जारी गर्ने छ ।

कम्पनीले आईपीओ जारी गर्न कात्तिक २ गते बोर्डमा आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ । कम्पनीले अंकित मूल्यमा नै आईपीओ जारी गर्ने छ ।

यो कम्पनीअन्तर्गत नेपाली र अंग्रेजी पत्रिकाबाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका छन् ।


क्लिकमान्डु