अब आईपीओ निष्कासन गर्दा विदेशमा रहेका नेपालीलाई १०% कोटा छुट्याउनै पर्ने



काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौं संशोधन) निर्देशिका-२०७९ लागू गरेको छ ।

यो निर्देशिका लागू भएसँगै संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुटयाई बाँडफाँट गर्नु पर्ने भएको छ । यो व्यवस्था आजैदेखी लागू भएको छ ।

संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छट्याउनु पर्नेछ ।
छुट्याएको सेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आव्हानपत्र प्रकाशित गर्नुपर्नेछ । सेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्नेछ ।

निष्काशनमा आवेदन गर्न विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

बाडँफाँट भए पश्चात मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ । निष्काशित शेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्नेछ ।

निक्षेप सदस्यले यस दफाको प्रयोजनको लागि विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछ ।

विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गर्न सक्नेछ ।


क्लिकमान्डु