सेयर बजारमा उछाल, कारोबार रकमले दियो साथ



काठमाडौं । लामो समयपछि सेयर बजारमा उछाल देखिएको छ । बजार मापन गर्ने सूचक दोहोरो अंकले बढेर कारोबार रकममा पनि उत्साह देखिएको छ ।

बजार मापन गर्ने सूचक ५६.११ अंकले बढेर परिसूचक १९३०.९९ बिन्दुमा रोकिएको छ । यो दिन २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँको सेयर कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२८ अंकले बढेर ३८२.१४ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २९.५४, विकास बैक १३१.२४, वित्त कम्पनी ८१.७०, जलविद्युत ८३.७३, जीवन बीमा १७३.३८, उत्पादन तथा प्रशोधन १६१.६८, माइक्रोफाइनान्स ९१.९७, निर्जीबन बीमा १८२.३४, अन्य समूहको ७०.१० र ट्रेडिङ समूहको उपसूचक ८१.४१ अंकले बढेको छ ।

कारोबारमा न्यादी हाईड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै युनियन हाईड्रो, माउन्टेन हाईड्रो नेपाल, दिव्यश्वरी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नलिब बैंक र शिवम् सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु